जनता टाइम्स

२० पुष २०७६, आईतवार ११:१३

सुनको भाउले राख्यो नयाँ रेकर्ड, अहिलेसम्म कै उच्च मुल्य कायम


काठमाडौं, पुष २०

सुनको भाउले आइतबार पुन नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुनको मुल्य आज अहिलेसम्मकै सबैभन्दा उच्च भएको हो । आइतबार अहिलेसम्मकै महँगो तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो ।

गएको शुक्रबार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँ नै बढेर तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो । अमेरिका र ईरानबीचको तनाव, डलर मजबुत र भारतीय रुपैयाँ कमजोर भएकाले नेपालमा सुनको भाउ बढेको महासंघको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेपछि भाउ महँगो भएको हो ।

सुनको भाउ तोलाको ८० हजारको हाराहारीमा पुग्ने देखिएको उहाँको भनाइ छ । दुई दिनमा मात्रै सुनको भाउ ३० डलरले बढेको छ भने नेपालमा दुई हजार रुपैयाँ महँगो भएको छ । सुनको भाउ बढे पनि चाँदीको भाउ भने घटबढ भएको छैन ।

चाँदी गएको शुक्रबार जस्तै आइतबार पनि तोलाको ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैबीच सुनको भाउ महँगो हुन थालेपछि व्यवसायी भने चिन्तामा परेका छन् । भाउ बढेसँगै सुन किन्नेभन्दा पनि बेच्नेको संख्या बढेको भन्दै उनीहरु चिन्तित भएका हुन् ।