जनता टाइम्स

२१ पुष २०७६, सोमबार ०७:४३

१५ करोड ५१ लाख राजस्व छली गरेको आरोपमा ६ जनाविरुद्ध दायर


काठमाडौं, पुस २१ ।  राजस्व अनुसन्धान विभागले १५ करोड ५१ लाख रुपैयाँ बिगो बराबरको राजस्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौंको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईं समेत चार जना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साह सहित दुई जनाविरुद्ध राजस्व चुहावटमा मुद्दा चलाइएको हो ।

आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बीजक प्रयोग गरेको र साहले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोप छ ।उनीहरुविरुद्ध १५ करोड ५१ लाख रुपैयाँ बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिबाना र तीन वर्ष कैद सजायको माग दाबी गरिएको मैनालीले बताउनु भयो ।

अग्रिम इन्टरप्राइजेज अर्थात् अग्रिम निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरि झुट्टा तथा नक्कली बीजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत गरि १२ करोड ८७ लाख रुपैयाँ बिगो बराबरको राजस्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

यस्तै सन्दीप ट्रेडिङमार्फत प्रमिलाकुमारी साह सहित दुई जनाले दुई करोड ६४ लाख रुपैयाँ बीगो बराबरको राजश्व चुहावट गरेको पाइएको छ ।