जनता टाइम्स

२१ पुष २०७६, सोमबार १४:५५

घरभाडामा बस्नेको विवरण प्रहरीमा अनिवार्य बुझाउन गृह मन्त्रालयको निर्देशन, यस्ता छन कारण


काठमाडौं, पुस २१ । गृह मन्त्रालयले काठमाडौं उपत्यकालगायत देशभरका मुख्य–सहरी क्षेत्रमा घरभाडामा लिएर बस्ने व्यक्तिहरूको विवरण अनिवार्य रुपमा प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ । अपराध नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाउन गृह मन्त्रालयले देशभरका मुख्य शहरी क्षेत्रका घरधनीलाई यस्तो निर्देशन दिएको हो ।

चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको भण्डारण र प्रयोग गरी विध्वंसात्मक एवं अराजक गतिविधि गर्ने घटनालाई निस्तेज पार्न भाडामा बस्ने व्यक्तिको विवरण आद्यावधिक गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो । केही समययता आर्थिक अपराध बढेको पाइएपछि मन्त्रालयले यस्तो निर्णय लिएको गृहका अधिकारीहरुले जनाएका छन । अपराधजन्य क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पार्ने भएकोले भन्दै गृहले काठमाडौं उपत्यकालगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्ति, संस्था तथा कार्यालयले घरभाडामा दिँदा र लिँदा घरमा बस्ने व्यक्तिहरुको विवरण बुझाउनु पर्ने जनाएको छ ।

गृह मन्त्रालयले व्यक्ति, संस्था र कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण तथा जानकारी नजिकको प्रहरी कार्यालयमा अनिवार्य उपलब्ध गराउन भन्दै स्थानीय प्रहरीलाई पनि अनिवार्य रुपमा घरभाडामा बस्ने र छाड्नेहरुको विवरण नियमित एवं अद्यावधिक राख्न निर्देशन दिएको छ । ‘घर भाडामा दिनेले प्रहरीमा बिवरण बुझाउन र प्रहरीले पनि सवै बिवरण अद्यावधिक गर्न निर्देशन दिइएको हो,’ मन्त्रालयको भनाई छ ।