काठमाडौं, पुस २१ । नेपाली काँग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुले पार्टी सभापति अत्यन्तै अनुदार र असहिष्णु बनेको निश्कर्षसहित बिधानअनुसार अघि बढन ध्यानाकर्षण गराएका छन । बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधर सभापतिहरुको भेलाले पार्टी कार्यालय सानेपामा आज बसेको भेलाले चार बुँदे निश्कर्ष निकालेको हो ।
ध्यानाकर्षणपत्रमा नेपाली काँग्रेसको गत बर्ष भएको महासमिति बैठक पश्चात बसेका केन्द्रीय कार्यसमिति समिति बैठकले बहुमतका आधारमा गरेका निर्णयहरुप्रति आपत्ति जनाउदै ती निर्णयले पार्टीमा संशय, अन्यौलता र जटिलता थपेको उल्लेख छ । त्यस्तै महासमितिले पास गरेका दुई वटा मुलप्रस्तावलाई बहुमतको गणितबाट उल्ट्याएर सुरु भएको संवैधानिक सर्वोच्चता विरुद्धको आन्तरिक यात्रा गत पुस १६ गतेको बहुमतको निर्णयमार्फत पार्टी परम्परा, संस्कार र लोकतान्त्रिक मूल्यमान्यता विपरित भएको ठहर गरिएको छ ।
सभापति देउवाले पुस ११ गतेको बैठकमार्फत बहुमतका आधारमा पार्टीका विभागहरु गठन गर्नुका साथै महाधिवेसनको मिति तोक्नुभएको थियो । उक्त बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले बहिष्कार गरेको थियो । सभापतिहरुको ध्यानाकर्षणपत्रमा पार्टीले लिने निर्णय विधानसम्मत हुनुपर्ने, पार्टी महाधिवेशन हार्दिक महोत्सवको रुपमा ग्रहण गर्न यससँग सम्बन्धित निर्णयहरु व्यापक सहमतिको आधारमा गर्नुपर्ने, पार्टी सदस्यता वितरण, मूल्यांकन र संकलन अविलम्ब सुरु गर्नुपर्ने तथा राष्ट्रिय एकता र मेलमिलापको भावनाअनुरुप सहमति, सहकार्य र सहअस्तित्व तथा समझदारीलाई पार्टीभित्रको निर्णय निर्माण र कार्यसम्पादनको मुल आदर्श र मार्ग बनाउनुपर्ने माग पनि गरिएको छ ।
देउवालाई चुनौती दिन बोलाइएको जिल्ला सभापतिको भेलामा निकालिएको चार बुँदे ध्यानाकर्षण पत्रको मितिमा भने चिप्लिएको छ । पुस ११ गतेको मिति राखेर ध्यानाकर्षणपत्र बाँडिएको छ ।
प्रतिक्रिया दिनुहोस्