जनता टाइम्स

२१ पुष २०७६, सोमबार १५:३३

सभामुखमा सहमति नजिक पुगे ओली–प्रचण्ड


काठमाडौं, पुस २१ । सभामुखसहित पार्टी र सरकारको कामको बिषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड गम्भीर छलफलमा जुटनु भएको छ । सभामुख चयन हुन नसक्दा संसद नै बन्धक बन्न थालेको भन्दै आलोचना बढेपछि दुवै अध्यक्ष गम्भीर छलफलमा जुटनु भएको हो ।

गृहकार्यकै क्रममा प्रधानमन्त्रीसमेत रहनुभएका ओली र प्रचण्डबीच आज बालुवाटारमा लामो छलफल भएको छ । ओली र प्रचण्डबीच सुवास नेम्बाङ वा अग्नि सापकोटामध्ये एकलाई सभामुख बनाउने भन्ने विषयमा छलफल भए पनि ठोश निर्णय भने हुन नसकेको बताइएको छ । नेकपाका अधिकांश नेताहरु संबिधानसभाअध्यक्षसमेत रहनुभएका नेम्वाङलाई सभामुख बनाएर संसदलाई चलायमान बनाउनु पर्ने पक्षमा रहेपनि निकट नेताहरुको दवावका कारण निर्णय हुन सकेको छैन । सभामुखमा आफ्नो चाहना नरहेको सार्वजनिक अभिब्यक्ति दिनुभएका नेम्वाङलाई अध्यक्षद्वय ओली र प्रचण्डले नै सो पार्टीको आवश्यकता भन्दै रोक्नुभएको थियो । स्वयं नेम्वाङले नै यस बिषयमा सार्वजनिक खुलासा गरिसक्नु भएको छ ।

आजको छलफलमा पूर्व पार्टीको हैसियतमा भने अवका निर्णय हुन नहुनेमा दुवै अध्यक्षले जोड दिनुभएको स्रोतको भनाई छ । ओली र प्रचण्डबीच भोलि फेरि छलफल गरी निर्णय लिने सहमति भएको छ । दुई अध्यक्षबीच यसअघि नै सभामुखको बिषयमा सहमति भएपनि दुवैतर्फका आकांक्षी नेता र पूर्वसमुहको दवावका कारण पुनः छलफलमा जुटनु परेको हो । नेम्वाङलाई नै सभामुख बनाउने निचोडमा दुवै अध्यक्ष पुगेमा सापकोटालाई मन्त्री बनाइने स्रोतको भनाई छ । नेकपाभित्र अध्यक्ष प्रचण्ड निकट हस्ती मानिनुहुने सापकोटा खासै अवसर नपाएको नेतामा पर्नुहुन्छ ।

आजको छलफलमा अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग आजै बिहान भएको भेटबारे पनि जानकारी गराउनु भएको थियो । शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने विषयमा देउवासँग भएको छलफलबारे उहाँले जानकारी गराउनु भएको हो । द्वन्द्वकालीन घटनासँग जोडिएका सत्य निरुपण तथा मेलामिलाप आयोग र वेपत्ता व्यक्तिको खोजबिन आयोग गठनका विषयमा देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले छलफल गर्नुभएको थियो । सो छलफलमा भएको कुराकानीबारे प्रचण्डले प्रधानमन्त्री ओलीलाई गराउनु भएको हो ।