जनता टाइम्स

२३ पुष २०७६, बुधबार १७:३७

ओली सरकारको कामको परिणाम : थपियो ४ सय मेगावाट बिजुली, महसुलमा पनि अव यस्तो छ सहुलियत


काठमाडौं, पुस २३ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनपछि उर्जा क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । ओली सरकार गठनपछि अहिलेसम्म चार सय मेगावाट बिजुली थप भएको हो । ओली सरकार गठन हुनअघि देशमा ९ सय मेगावाट जडित क्षमता रहेकामा अहिले त्यसमा ४ सय मेगावाट बढेर १३ सय पुगेको छ । चालु आर्थिक वर्षभित्र थप एक हजार मेगावाट थपिने अनुमान सरकारको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार ८८ प्रतिशतमा बिजुलीको पहुँच पुगेकामा १० प्रतिशतले वैकल्पिक ऊर्जामार्फत बिजुलीको प्रयोग गरिरहेका छन् । ७२ प्रतिशत नागरिकले अहिले पनि मेन ग्रिडबाट बिजुली प्रयोग गरिरहेका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीको निर्देशनमा मन्त्री पुनले आगामी दुई वर्षभित्र विद्युतमा सबैको पहुँच पुग्ने गरी योजना बनाउनु भएको छ । आगामी तीनवर्षभित्र सबै क्षेत्रमा पूर्ण विद्युतीकरण हुने ऊर्जामन्त्री पुनले जानकारी दिनुभयो । मन्त्री पुनका अनुसार त्यसका लागि यस वर्षभित्र ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिनेछ । विद्युतीकरणका लागि चालु आर्थिक वर्ष तीन वटा प्रदेशमा २२ अर्ब रुपैयाँ बराबरको लगानी गरिनेछ ।

प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा एआइआइबीबाट झण्डै १३ अर्ब र इआइबीबाट झण्डै १० अर्ब रुपैयाँको लगानी भित्र्याउने तयारी छ । केही दिनभित्रै टेण्डर आह्वान गरिने पुनले जानकारी दिए । ‘सकभर हामीले दुई वर्षभित्र नै पूर्ण विद्युतीकरण गर्नेछौं,’ मन्त्री पुनले भन्नुभयो, ‘नसकेको अवस्थामा हामीले तीन वर्षमा सबै क्षेत्रमा विद्युतको पहुँच पुर्याउने गरी काम गरिरहेका छौं ।’ ओली सरकारले नागरिकलाई विद्युत महसुलमा राहत पुर्याउने गरी पुनरावलोकन गर्ने तयारी अन्तिम चरणमा पुरयाएको छ ।

जसअनुसार अब सय युनिटसम्म प्रयोग गर्ने नागरिकले सस्तो दरमा बिजुली पाउनेछन । अहिले २० युनिटसम्मको प्रयोग गर्ने नागरिकले सस्तो दरमा बिजुली पाइरहेका छन । महिनामा सय युनिटसम्म बिजुली प्रयोग गर्नेले झण्डै ३ रुपैयाँ प्रतियुनिटमा प्रयोग गर्न पाउनेछन । सरकारले इन्डक्सन चुलो प्रयोगलाई प्रोत्साहन गर्न महसुलमा छुट दिने योजना अघि बढाएको हो । त्यस्तै हरेक महिना ४ सय युनिटसम्म प्रयोग गर्ने व्यक्तिलाई पनि सरकारले सहुलियतमा बिजुली दिने तयारी गरेको छ । विद्युतीय गाडी र मोटरसाइकल प्रयोग गर्नका लागि समेत प्रोत्साहन गर्ने उद्देश्यले महिनामा ४ सय युनिट बिजुली प्रयोग गर्नेलाई पनि सस्तो दरमै बिजुली उपलब्ध गराइन लागेको हो ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको योजनाअनुसार मन्त्री पुन र बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काम अघि बढाएपछि उर्जाको क्षेत्रमा महत्वपुर्ण परिणाम आएको हो । प्रधानमन्त्री ओलीले अघिल्लो पटक सरकारको नेतृत्व गर्दा नै केही बर्षभित्र लोडसेडिङलाई इतिहास बनाउने घोषणा गर्नुभएको थियो । दोस्रो पटक सरकारको नेतृत्व गरेपछि उहाँले त्यो योजनालाई ब्यवहारमा कार्यान्वयन गराएर उर्जा क्षेत्रमा नयाँ फडको मार्न सफल भएको हो ।