जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार ११:०४

खग्रास वा खण्डग्रास नभएर यस्तो लाग्दैछ आज चन्द्रग्रहण


काठमाडौं, पुष २५

शुक्रबार राति नेपाली आकाशमा चन्द्रग्रहण लाग्दैछ । राति १० बजेर ५२ मिनेटमा सुरु भएर १२ बजेर ५५ मिनेटमा मध्य हुने र राति २ बजेर ५७ मिनेटमा सकिने छ ।

यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर ‘पेनम्ब्रल’ चन्द्रग्रहण लाग्र्दछ । यो ग्रहणको बेलाका तस्बिरको वैज्ञानिक परीक्षण गर्न वैज्ञानिकका लागि महत्पूर्ण हुने खगोलशास्त्रीहरु बताउछन् । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा पर्दा पृथ्वीको छाँया चन्द्रमामा पर्नु नै चन्द्रग्रहण हो ।

तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने आज चन्द्रग्रहण नलाग्ने दाबी गरेको छ । समितिका अध्यक्ष प्राध्यापक रामचन्द्र गौतमले समितिमा पनि यसबारेमा छलफल भएको तर आज चन्द्रग्रहण नलाग्ने निष्कर्ष निकालिएको बताउनु भयो ।

यो ग्रहण नाङ्गो आँखाले छुट्याउन नसकिने भएकाले पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा नगरिएको एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ । चन्द्रग्रहण भनेको पृथ्वीको छायाँ चन्द्रमामा पर्नु हो । यस्तो छाँया दुई प्रकारको हुन्छ– सघन तथा बिरल ।

यदि चन्द्रमा पृथ्वीको सघन छायाँमा परे खग्रास वा खण्डग्रास चन्द्रग्रहण हुन्छ भने बिरल छायाँमा पर्दा ‘पेनम्ब्रल’ चन्द्रग्रहण हुने सोसाइटीका अध्यक्ष भट्टराईको भनाइ छ ।