जनता टाइम्स

६ माघ २०७६, सोमबार ०७:४२

पाष्टरको हर्कत : रोग निको पार्ने बहनामा धर्म परिवर्तन, उपचारको बहानामा पटक-पटक बलात्कार


ललितपुर, माघ ६ । ललितपुरको कुसुन्तीस्थित आशा विश्वासी मण्डली (चर्च) का पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशीले परमेश्वरकै नाम जप्दै एक बिरामी युवतीलाई पटक पटक बलात्कार गरेको पाइएको छ । पीडित युवतीले प्रहरीमा दिएको बयानअनुसार पाष्टर जोशीले भगवानको नाममा युवतीलाई बलात्कार गरेको पाइएको हो ।

पाष्टर जोशी हाल तिनै युवतीको उजरीपछि प्रहरी हिरासतमा रहेका छन । महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङका अनुसार अदालतबाट म्याद थपेर घटनाबारे अनुसन्धान भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा छालासम्बन्धी रोग निको पारिदिने भन्दै पाष्टरले बलात्कार गरेको हुन सक्ने देखिएको छ । प्रहरीका अनुसार बाथ रोग निको पार्ने भन्दै उनले बलात्कार गरेको पाइएको छ ।

शारीरिक रुपमा अशक्त पीडित २१ वर्षीया युवती फुर्सदको समयमा कुसुन्तीको चर्चमा गएर प्रार्थना गर्थिन् । करिव १० वर्षअघि क्रिस्चियन धर्म मान्न थाल्दा पनि उनलाई चर्चमा गएर प्रार्थना गरे बाथ रोग निको हुन्छ भनिएको थियो । यही विश्वासमा उनले धर्म परिवर्तन गरिन । तर जति प्रार्थना गरे पनि रोग निको भएन । पछिल्लो समय पास्टर जोशी कहाँ पुगेपछि उनले रोगबारे अनौठो कारण सुनाए । ‘बच्चामा तिम्रो धेरैसँग शारीरिक सम्पर्क भएकोरहेछ, तिमीले गरेको पाप मेटाउनका लागि मसँग शारीरिक सम्पर्क गर्नुपर्छ, प्रार्थनामा बस्दा मलाई परमेश्वरले यो कुरा भन्नुभएको छ,’ पीडित युवतीलाइ पाष्टर जोशीले भने ।

पास्टरको कुरा उनलाई अनौठो लाग्यो । तर परमेश्वकै नाम लिएर रोग निको हुन्छ भनेपछि होला भन्ने लाग्यो । पास्टरले सतप्रतिशत निको हुने आश्वसन दिएपछि उनी जोशीले भनेअनुसार यौन सम्पर्क राख्न तयार भइन् । ‘वर्षौंदेखि पालिरहेको रोग निको हुन्छ भने जे गर्न पनि तयार हुने थिएँ, त्यही कारण तयार भएँ,’ पीडित युवती भन्छिन । पीडित युवतीले प्रहरीमा दिएको जाहेरीअनुसार जोशीले तीन महिनाअघि चापागाउँ मोडस्थित एक गेष्ट हाउसमा बोलाए । त्यहीँ उनले पहिलो पटक शारीरिक सम्बन्ध राखे । होटलमा प्रवेश गर्दा उनलाई अफ्ठ्यारो लागेको थियो । तर पहिल्यै सहमति जनाएर आएकाले यौन सम्पर्क भयो ।

बच्चामा तिम्रो धेरैसँग शारीरिक सम्पर्क भएकोरहेछ, तिमीले गरेको पाप मेटाउनका लागि मसँग शारीरिक सम्पर्क गर्नुपर्छ, प्रार्थनामा बस्दा मलाई परमेश्वरले यो कुरा भन्नुभएको छ

तर पाष्टरले परमेश्वरको नाममा आफूलाई जालमा पारेर बलात्कार गरेको रहेछ । दिन बित्यो, हप्ता हुँदै महिना पनि वित्यो । रोगमा सुधार आएन । बरु पाष्टरको बलात्कार बढन थाल्यो । फेरि जोशीले सम्बन्ध राख्ने प्रस्ताव राखे । उनले नमान्दा परमेश्वरले दिएको शक्ति नास भएर जाने धम्की दिए । पाष्टर पीडितको पसलमै आएर यौन सम्पर्क राख्ने खोजे, उनले प्रतिकार गरिन् । पाष्टरले पहिले सम्बन्ध राखेको सबैलाई भनिदिने भन्दै धम्क्याएर पीडितकै कोठामा जबरजस्ती करणी गरे । त्यसपछि त जोशी पसलमा नियमित जसो आउन थाले । पटकपटकको धम्की र बलात्कारबाट छुटकरा पाउन उनी प्रहरीमा आइपुगिन ।

उनको जोहरीका आधारमा प्रहरीले जोशीलाई पक्राउ गरेर अहिले कानूनी प्रक्रिया अघि बढिरहेको छ । जोशीले पीडित महिलालाई लागेको होटलका सञ्चालकसँग पनि बयान लिइसकेको छ । प्रहरीले अन्य युवतीलाई पनि रोग निको हुने प्रलोभनमा बलात्कार गरेको हुनसक्ने भन्दै थप अनुसन्धान अघि बढाएको छ ।