जनता टाइम्स

८ माघ २०७६, बुधबार १७:३१

किसानमारा उद्योगीबिरुद्ध ओली सरकारको एक्शन : दुई चिनी मिलको खाता रोक्का, राजश्वलाई छुट्टै पत्र


काठमाडौं, माघ ८ । सहमतिअनुसार उखु किसानको भुक्तानी नगरेपछि सरकार एक्शनमा उत्रिएको छ । सरकारले तोकेको समयमा उखु किसानलाई बक्यौता रकम नदिने दुई चिनी मिलको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै उद्योगीबिरुद्ध एक्शनमा उत्रिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानलाई भुक्तानी दिन अटेर गरेका अन्नपूर्ण चिनी मिल र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो । उद्योग मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्दासम्म ती दुवै मिलको सम्पूर्ण आर्थिक कारोबार रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिएको जानकारी दिनुभयो । किसानलाई पीडा दिनेबिरुद्ध मन्त्रालय कडा रुपमा प्रस्तुत हुने पनि उहाँको भनाई छ ।

मन्त्रालयले दुवै चिनी उद्योगमाथि राजस्व सम्बन्धी अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागलाई समेत पत्राचार गरेको छ । लामो समयदेखि उखु किसानको रकम भुक्तानी नगरेपछि काठमाडौं आएका पीडितसँग भएको सहमतिअनुसार भुक्तानी नगरेपछि सरकारले कडा कदम चालेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बिभागीय मन्त्रीलाई लेखराज भट्टलाई यसअघि नै उखु किसानको भुक्तानीको बिषयमा गम्भीर भई उद्योगीमाथि आवश्यक कार्वाही गर्न निर्देशन दिइसक्नु भएको छ ।

प्रधानमन्त्री ओलीले गम्भीर चासो लिएपछि मन्त्री भट्टले किसानसँग उद्योगीसमेत राखेर सहमति गराई रकम भुक्तानीको समयसीमा तोक्नुभएको थियो । तर तोकिएको समयमा उद्योगीले रकम भुक्तानी नगरी अटेर गरेपछि कार्वाही प्रक्रिया अघि बढाइएको हो ।