जनता टाइम्स

९ माघ २०७६, बिहीबार १२:०५

अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल भन्छ – नेपालमा भ्रष्टाचार घट्यो


काठमाडौँ, माघ ९ 

भ्रष्टाचार नियन्त्रण र सुशासनको दृष्टिकोणले नेपालको अवस्थामा सुधार देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कानुनमा गरेको कडाई र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियताका कारण अवस्थामा सुधार देखिएको हो ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको करप्सन पर्सेप्सन इन्डेक्स (सीपीआई २०१९) ले नेपालमा भ्रष्टाचार घट्दो अवस्थामा देखाएको हो । नेपाल ३४ अंकका साथ १ सय १३ औं स्थानमा उक्लिएको छ । गत वर्ष नेपाल ३१ अंकसहित १ सय २४ औं स्थानमा थियो । यो तथ्यांक ट्रान्सपरेन्सीले हालै जर्मनीको बर्लिनमा सार्वजनिक गरेको हो ।

‘सार्वजनिक पदको दुरुपयोगमा भ्रष्टाचार विरोधी निकायहरुको कारबाही, न्यायपालिकाका काम–कारबाही, कर असुली सम्बन्धित निर्णयहरू, सुरक्षा निकायहरु खासगरी नेपाली सेनामा सदाचारको पहल लगायत सार्वजनिक सरोकारका विषयमा नागरिक संस्थाको भूमिकाजस्ता कारणले नेपालको स्कोरमा केही सुधार आएको सर्वेक्षणले ईंकित गरेको देखिन्छ’ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भनेको छ ।

तथ्यांकअनुसार यस पटक डेनमार्क र न्युजिल्यान्ड सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको सूचीमा परेका छन् । दुवै देशले १०० मा ८७ अंक पाएका छन् । सोमालिया भने ९ अंक पाएर विश्वकै बढी भ्रष्टाचार हुने देशको सूचीमा परेको छ।