जनता टाइम्स

११ माघ २०७६, शनिबार १०:०६

कोरोना भाइरसबाट चिकित्सककै मृत्यु, सावधानी अपनाउन अपिल


काठमाडौं,, माघ ११

चीनमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरको मृत्यु भएको छ । चिनियाँ सञ्चार माध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणबाट डाक्टरकै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो । डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन् ।

योसँगै चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । त्यस्तै एक हजार २ सय भन्दा बढीमा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको जोखिम चीनका अन्य प्रान्त र सहरलगायत विश्वका विभिन्न देशमा समेत फैलिएको छ । कोरोना भाइरसको संक्रमण अमेरिका, जापान, थाइल्याण्ड, दक्षिण कोरिया र अस्ट्रेलियामा समेत पुगेको छ ।

खतरनाक कति ?

विशेषज्ञहरूका अनुसार, चीनमा देखिएर विश्वभर तीव्र गतिमा विस्तार भइरहेको नोवल कोरोना भाइरस धेरै खतरनाक रूपमा प्रस्तुत भइरहेको छ । हालसम्म कुनै विशिष्ट उपचार नभएको कडा निमोनियालगायतका स्वास्थ्यमा जटिलता ल्याउन सक्ने यो भाइरसले सामान्य रोगदेखि गम्भीर रोगसमेत लगाउन सक्छ ।

यो भाइरसको इन्फेक्टिभिटी रेट (संक्रामकताको दर), सिभियरिटी रेट (गम्भीरताको दर) र मर्टिलिटी रेट (मृत्युदर) समेत बढी देखिएको छ । ‘हालसम्म प्रकाशमा आएका विभिन्न तथ्यांक हेर्दा नोवल कोरोना भाइरसको विस्तारले गर्दा स्थिति भयानक हुन सक्ने देखिएको छ,’ त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास भन्छन्, ‘सार्स र मर्सको तुलनामा यसको सिभियरिटी रेट (संक्रमण भएपछि बिरामी गम्भीर अवस्थामा जान सक्ने दर) धेरै बढी छ ।’

हाल नोवल कोरोना भाइरस देखिएका सबै केसमध्ये करिब २५ प्रतिशतभन्दा बढी केस क्रिटिकल (नाजुक) अवस्थाका देखिएको औंल्याउँदै डा।दास भन्छन्, ‘स्वाइनफ्लु फैलिँदा सम्पूर्ण प्रभावितमध्ये एकदेखि डेढ प्रतिशत केस मात्र नाजुक हुने गरेको थियो ।’

डब्लूएचओका महानिर्देशक डा। टेड्रस अधानोम गेब्रियससले समेत नोवल कोरोना भाइरसबाट हालसम्म संक्रमित भएकाहरूमध्ये एक चौथाइले नाजुक बिरामी भएको अनुभूति गरेको बताए । यति मात्र नभई हालसम्म सार्वजनिक भएको तथ्यांकअनुसार, नोवल कोरोना भाइरस संक्रमणबाट हुने संक्रमकताको दर, गम्भीरताको दर र मृत्युदरसमेत बढी देखिएको उनले बताए ।

सार्सजस्तै कोरोना

वैज्ञानिक नाम ‘२०१९–एन सीओभी’ रहेको ‘नोवल कोरोना भाइरस’ यसअघि विश्वको कुनै पनि भागमा देखिएको थिएन । यो नयाँ भाइरसको ‘सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम’ (सार्स) उत्पन्न गर्ने भाइरसकै एउटा प्रकार हो ।

कोरोना भाइरस विभिन्न भाइरसको एउटा समूह हो, जो मानिसलगायत स्तनधारी प्राणीको श्वासनलीसँग सम्बन्धित स्वास्थ्य समस्याहरू उत्पन्न गर्न सक्छ । इलेक्ट्रोन माइक्रोस्कोपमा यो भाइरस क्राउन (मुकुट) को आकारमा देखिने भएकाले यसको नाम कोरोना भाइरस रहेको हो । ल्याटिन भाषामा मुकुटलाई कोरोना भनिन्छ ।

धेरैजसो कोरोना भाइरस हानिकारक नभए पनि यसको सार्स र मर्स उत्पन्न गर्ने प्रकार मनुष्यको लागि खतरनाक मानिन्छ । चिकित्सा इतिहासअन्तर्गत मानिसमा पहिलो कोरोना भाइरस सन् १९६० मा सामान्य रुघाखोकीले ग्रस्त व्यक्तिको नाकमा पाइएको थियो । यसअघि सन् १९३७ मा जनावरमा पहिलो कोरोना भाइरस पक्षीमा संक्रमित ब्रोकाइटिस भाइरसका रूपमा पाइएको थियो ।

प्रतिरोधक क्षमता कम भए जोखिम

नोवल कोरोना भाइरसले उच्च रक्तचाप, मधुमेह, मुटु र रक्तनली सम्बन्धी रोग (कोरोनरी भास्कुलर डिजिज) लगायत शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाहरूमा बढी कडा रूपमा देखिएको छ । संक्रमणले हुने मृत्युसमेत यस्तै व्यक्तिमा बढी देखिएको हो । डब्लूएचओका महानिर्देशक डा। टेड्रस अधानोम गेब्रियससले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

अधिकांश संक्रमित ४० वर्ष माथिका

हालसम्म यो भाइरस पाको उमेर भएकाहरूलाई कडा रूपमा देखिएको छ भने दुई तिहाइ संक्रमित पुरुष छन् । डब्लूएचओको तथ्यांकअनुसार, कूल संक्रमितमध्ये ७२ प्रतिशत ४० वर्षमाथिका छन् । यस्तै संक्रमितहरूमा ६४ प्रतिशत पुरुष छन् ।

भाइरस सर्पबाट आएको हो ?

विभिन्न मिडिया रिपोर्टमा नोवल कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरिए पनि हालसम्म यसबारे सही जानकारी आइसकेको छैन । डब्लूएचओले यो भाइरस सम्भवतः पशुबाट मानिसमा सरेको भए पनि कुन पशुबाट सरेको हो भन्नेबारे अझै स्पष्ट भइनसकेको जनाएको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रसले हालसम्म यो भाइरसको स्रोत थाहा हुन नसकेको बताए । ‘हामीले चीनको वुहानस्थित समुद्री खाद्य बजारलगायत प्रभावित क्षेत्रहरूका पशुबाट थुप्रै नमुना संकलन गरेका छौं,’ डब्लूएचओका विशेषज्ञहरूले बिहीबार जेनेभामा भएको पत्रकार सम्मेलनमा भने । उनीहरूले यो भाइरस सर्पबाट मनुष्यमा सरेको हो कि भन्ने प्रश्नको उत्तरमा भने, ‘हालसम्म यसबारे यथेष्ट प्रमाण छैन ।’

उपचार

यो भाइरसले संक्रमित भई जटिल अवस्थामा पुगेकाहरूलाई लाक्षणिक उपचार गरिन्छ । छाती रोग विशेषज्ञ डा। दासका अनुसार, यदि सास फेर्न असजिलो, एक सय डिग्री फरेनहाइटभन्दा बढीको तीव्र ज्वरो, बान्ता, पखालाजस्ता समस्या ४८ घण्टाभन्दा बढी समय देखियो भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

डब्लूएचओका विशेषज्ञहरूका अनुसार, जटिल अवस्थाका संक्रमित व्यक्तिलाई श्वासप्रश्वाससम्बन्धी स्याहार र उपचारको आवश्यकता हुन्छ । जटिल अवस्थामा शरीरका धेरैजसो अंगले काम गर्न छोड्ने अवस्थासमेत आउन सक्ने भएकाले ‘मल्टिपल अर्गेन सपोर्ट’ चाहिन्छ ।