जनता टाइम्स

१३ माघ २०७६, सोमबार ०९:०९

चीनमा कोरोना भाइरसबाट ८० जनाको मृत्यु, उहानमा रहेका नेपाली चिन्तित (कस्तो छ नेपालको तयारी)


काठमाडौ,  माघ १३ । चीनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने संख्या ८० पुगेको छ । यतिबेला चीनले भाइरस प्रभावित शहरहरुमा यात्रामा प्रतिबन्ध लगाएको छ । चीनबाट अन्य देशमा जान र आउन पनि चीन सरकारले रोक लगाएकाले त्यहा रहेका विदेशी नागरिकहरु चिन्तित रहेका छन् ।उहानमा रहेका धेरै नेपालीहरु भाइरस सर्नेमा चिन्तीत रहेको र नेपाल फर्कन चाहेका छन् । तर अहिले जोकसैलाई पनि स्वदेश फर्कन प्रतिबन्ध लगाइएको छ ।

चीन सरकारले भाइरस प्रभावित शहरहरुमा यात्रामा समेत प्रतिबन्ध लगाएको छ भने अस्पतालहरु बिरामीले भरिभराउ भएको चीनको उहानमा रहनुभएका नेपाली चिकित्सक डा। रमेश आचार्यले एबीसी न्यूजलाई जानकारी दिनुभयो । उहाका अनुसार चीनका प्रमुख सहरमा प्रभावित प्रान्तबाट फर्केर आउनेलाई भाइरस सर्न सक्ने कारणले कम्तीमा १४ दिनसम्म घरभित्रै रहन भनिएको छ । हुवाई प्रान्तमा मात्र थप १३ जनाको मृत्यु भएको हो । हुवाई प्रान्त यो भाइरसबाट सबैभन्दा बढी प्रभावित क्षेत्र हो । पछिल्लो २४ घण्टामा मात्रै ६ सय ६८ जनामा यसको संक्रमण देखिएको छ । २ हजार ५ सय ८४ जनालाई उपचारमा राखिएको र २१ हजार ५ सय ५६ जनालाई प्रत्यक्ष निगरानीमा राखिएको समाचारमा जनाइएको छ । चीनपछि यो भाइरसको संक्रमण अहिले यूरोपमा पनि फैलिएको छ ।

कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ । न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुका लागि ६ दिनभित्र हजार शैय्याको अस्पताल बनाउने काम चीन सरकारले गरिरहेको छ । यो संक्रमणका कारण चीनका केही सहर प्राय ठप्प भएका छन् । जहा सार्वजनिक बस, रेल, र हवाई यातायातसमेत बन्द गरिएको छ ।

हुवेइ शहरमा एक जना चिकित्सककै मृत्यु भएको छ । १ करोड १० लाख जनसंख्या भएको उहानमा पहिलो पटक यो भाइरस देखिएको थियो । यो भाइरसको संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, स्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षणहरु देखा पर्ने चिकित्सकहरु बताउंछन् ।

नेपालमै परीक्षण गर्ने तयारी

नेपालमा समेत कोरोनाको संक्रमण देखिएपछि आगामी सातादेखि यसको परीक्षण स्वदेशमै गर्ने गरीको तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपालमै कोरोनाभाइरसको परीक्षणको व्यवस्था मिलाउन सबै तयारी गरिसकेको बताए ।

सम्भवतस् एक–दुई दिनभित्रै त्यस्तो व्यवस्था मिलाउने र ढिलो भएमा पनि एक साताभित्र परीक्षणको सुविधा नेपालमा नै उपलब्ध हुने उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आउने मानिसहरूलाई विशेष निगरानी गर्न थालिएको उनले बताए ।

संक्रमण भएको शंका लागेमा आइसोलेसन वार्डमा राखेर उपचार गरिने गरिएको छ । अहिले टेकु अस्पतालमा दुई जनामा कोरोना संक्रमणको आशंकामा उपचार भइरहेको छ । र उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको छ । नेपालमा एक जनालाई कोरोनाको संक्रमण भएको पुष्टि भइसकेको छ भने अन्य दुई जनामा संक्रमणको आशंका गर्दै स्याम्पल जाँचका लागि हङकङ पठाइएको छ ।