जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार ०८:२२

कामिरिताले तोडे आफ्नै रेकर्ड, २३ औं पटक पुगे सगरमाथाको चुचुरोमा


काठमाडौं ।

कामिरिता शेर्पाले २३औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राख्न सफल हुनु भएको छ । सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गर्नुभएको हो ।

‘कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको शिखरमा पुग्नु भएको हो’, आधार शिविरबाट पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । उहाको आरोहण कम्पनी सेभेन समिट्स ट्रेक्सका टासी लाक्पा शेर्पाले आरोहणको पुष्टि गर्दै ‘यो राष्ट्रकै गौरवको कुरा’ भएको बताउनुभयो ।

सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार अहिले १८ मुलुकका ६३ आरोही सगरमाथाको चुचुरोतिर उक्लिरहेका छन्।