जनता टाइम्स

१९ माघ २०७६, आईतवार ०७:१८

दुई भारतीय नागरिक हतियार र लागुऔषधसहित पक्राउ


 

काठमाडौं, माघ १९ । नेपाल प्रहरीले पेस्तोल, चक्कु र लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार साँझ जिल्लाको बर्दघाट नगरपालिका–९ भूताहास्थित भित्री सडकखण्डबाट इलाका प्रहरी कार्यालय बर्दघाट र प्रहरी चौकी बासाबाट खटिएको टोलीले भारत महाराजगञ्जको कोतवाली बस्ने ४० वर्षीय नासिन अलि र सोही स्थानका ३० वर्षीय धर्मेन्द्र गौडलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले भूताहाको भित्री सडकमा भारतबाट आउँदै गरेको युपी५३भी २५०० नंका मोटरसाइकललाई शङ्कास्पद जाँच गर्ने क्रममा चालक अलिको बायाँ खुट्टाको मोजामा फलामको १०।५ इञ्च लामो धारिलो चक्कु र सोही मोटरसाइकलमा सवार गौडको बायाँ खुट्टामा एक थान कटुवा पेस्तोल र गोली पाँच राउण्ड लुकाइछिपाई राखेको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

प्रहरीले गौडले बोकेको झोलाबाट फेनरागन १०० थान, डाइजापाम १०० थान, नोफिन १०० थान, ओनरेक्स ६० वटा प्रतिबोत्तल १०० मिलीलिटर, फेन्साडिल २८ प्रतिबोत्तल १०० मिलीलिटर लागुऔषध पनि बरामद गरेको छ । बरामद भएका हातहतियार, लागुऔषध र मोटरसाइकलसहित दुवैलाई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।