जनता टाइम्स

१९ माघ २०७६, आईतवार ०८:०२

चीन कोरोना भाइरसको प्रकोप बढ्दै : ३ सय ४ जनाको मृत्यु , हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गरिने


काठमाडौं, माघ १९, चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप बढिरहेको छ । कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन सय चार पुगेको अधिकारीहरुले जनाएका छन् । त्यस्तै सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार नाघेको चीन सरकारले बताएको छ ।

तीन सय ३० जना उपचारपछि पूर्ण रुपमा निको भएर घर फर्किएको चिनियाँ अधिकारीहरुले दाबी गरेका छन् ।

अमेरिका र अस्ट्रेलियाले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै पछिल्लो दुई हप्ता चीन भ्रमणमा गएका विदेशी नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् ।

कोरोना भाइरस प्रकोप स् अमेरिका र अस्ट्रेलियाले चीनबाट फर्किएका विदेशी नागरिकलाई प्रवेशमा रोक लगाए
अमेरिका र अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई भने १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालेका छन् । रुस, जापान, पाकिस्तान र इटलीले यसअघि नै यस्तै यात्रा प्रतिबन्ध लगाइसकेका छन् । विश्वका धेरैजसो देशहरुले आफ्ना नाकामा स्वास्थ्य जाँच सुरु गरेका छन् ।

तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अधिकारीहरूले भने अमेरिका र अस्ट्रलियाको यस्ता उपायविरुद्ध छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सीमा वारपार गर्ने ठाउँमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ । सीमा बन्द गरेपछि यात्रुहरू अनाधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी छ । शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै एक हजार ९ सय २१ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनले आफ्नो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार पुगेको बताएको छ तर हङकङ विश्वविद्यालयले गरेको अध्ययनअनुसार हुबेईमा मात्र ७५ हजार सङ्क्रमित रहेको प्रतिवेदन शनिबार सार्वजनिक भएको थियो ।
सरकारले चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने
सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो ।

हुवेइको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको हुँदा हुवेइमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको दूतावासले जनाएको छ । “नेपालीलाई ल्याउन जहाज चार्टर्ड गर्नका लागि काम भइरहेको र निश्चित हुनासाथ सोसम्बन्धी विवरण तत्काल उपलब्ध गराइने छ”, विज्ञप्तिमा भनिएको छ ।

दूतावासले आफ्नो वेबसाइटमा एउटा फाराम राखिएको र फर्कन चाहनेले अनिवार्यरुपमा सो फाराम भर्नुपर्ने र नाबालकबाहेक प्रत्येक राहदानीवालाले भिन्दाभिन्दै फाराम भर्नुपर्ने र फाराम तोकिएको समयमा सम्बन्धित स्थानमा आइपुगिसक्नुपर्ने दूतावासले जनाएको छ ।