जनता टाइम्स

१९ माघ २०७६, आईतवार १८:१५

केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री ओलीको निश्कर्ष : देशको अपेक्षाअनुसार पार्टी एकढिक्का भएको छ


काठमाडौं, माघ १९ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले देशको अपेक्षाअनुसार पार्टी एकढिक्का भएको आफ्नो निश्कर्ष सुनाउनु भएको छ । केन्द्रीय कमिटी बैठकको समापनको अवसरमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मिडियाले जतिसुकै अफवाह फैलाए पनि बैठकपछि नेकपा एकढिक्का बनेको आफ्नो निश्कर्ष सुनाउनु भएको हो ।

पार्टीको विषयलाई लिएर प्रधानमन्त्री ओलीले केही संचारमाध्यमले गलत ढंगले व्याख्या गरेको भएपनि उनीहरुको योजना सफल नभएको उहाँको भनाई थियो । ‘केही संचारमाध्यमले गलत ढंगले ब्याख्या गरेका छन, आ–आफ्ना स्वार्थअनुसार टाउका जोडेर अखबारबाजी गरिएको छ । अंशबण्डाजस्तो गरिएको छ । टाउका जोडेर भाग लगाउने, भाग लगाएर बदनाम गर्ने कुरा भए । यी अनुचित कुरा हुन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी पार्टीका हौं, पार्टीका बाहेक कसैका पिछग्गु होइनौं, देशको अपेक्षाअनुसार पार्टी एकढिक्का भएको छ ।’

बैठकमा प्रधानमन्त्री ओलीले चीनमा फैलिएको कोरोना भाइरसबारे सरकार एकदमै संवेदनशील रहेको जानकारी पनि दिनुभयो । ‘शनिबार लामो बैठक भएको थियो । चीनबाट विद्यार्थीहरु ल्याएपछि खुरुखुरु परिवारमा पठाउने भन्ने हुन्न । त्यहाँ सुरक्षित छन । ल्याएपछि १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ। यहाँ पनि महामारी फैलिए के गर्ने भन्ने हो। अहिलेसम्म एक जनामा थियो, त्यो ठीक भइसकेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले नेपालमा कोरोना भाइरस कसैमा छैन । सजग हुनुपर्ने हो तर डराउनुपर्ने अवस्था छैन ।’ चीनमा रहेका नेपाली विद्यार्थीलाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको भन्दै उहाँले चीनले नै व्यवस्था गरिरहेको जानकारी दिनुभयो । ‘उनीहरूलाई नेपाल ल्याउँदा भाइरस नफैलियोस् भन्नेमा सरकार सजग छ,’ प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले अमेरिकन च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे निकट भविष्यमा टुंगो लगाउने जानकारी दिनुभयो । बुधबारदेखि सूरु भएको केन्द्रीय समिति बैठकमा सदस्यले एमसीसी अनुमोदन गर्न नहुने र विज्ञ समिति बनाएर त्यसबारे निर्णय हुनुपर्ने सुझाव नेतृत्वलाई दिएका थिए । केन्द्रीय समितिमा एमसीसीको मुद्दा जोडतोडले उठेपछि बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भीम रावल सदस्यरहेको तीन सदस्यीय अध्ययन कार्यदल बनाउने निर्णय भएको छ । कार्यदललाई दस दिनमा प्रतिवेदन पेस गर्न समय दिइएको छ ।