जनता टाइम्स

२० माघ २०७६, सोमबार २०:५६

१५ वर्ष पुराना हवाई जहाज आयातमा रोक


काठमाडौं, माघ २०

सरकारले १५ वर्षभन्दा पुराना हवाई जहाज आयातमा रोक लगाउने तयारी गरेको छ । साथै १५ वर्ष संचालन भईसकेका विमानको पनि हरेक वर्ष उडान योग्यता क्षमता गर्नुपर्ने भएको हो ।

हवाई सुरक्षालाई विशेष ध्यान दिएर नयाँ हवाई नीतिको मस्यौदामा यी विषय समेटिएको छ । यसअघि विसं २०५० र २०६३ सालमा बनेको हवाई नीति अहिलेको अवस्थामा प्रभावकारी नभएको भन्दै नयाँ हवाई नीतिको मस्यौदा बनाइएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

नयाँ हवाई नीति बनाउन पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा गठित कार्यदलले सार्वजनिक गरेको नयाँ हवाई नितिको मस्यौदामा १५ वर्षभन्दा पुराना वायुयान आयातमा रोक लगाउने उल्लेख छ । नेपालमै १५ वर्षदेखि चलिरहेको वायुयानको पनि ‘स्ट्रक्चरल इन्टिग्रिटी प्रोगामु लागू गर्ने र हरेक वर्ष उडान योग्यताको परीक्षण गरेर मात्रै चल्न दिनुपर्ने नीतिको मस्यौदामा उल्लेख छ ।

नयाँ हवाई नीतिमा नेपाललाई हवाई यातायातको दृष्टिकोणले दक्षिण एसियाकै ‘हब’ बनाउने उद्देश्य राखिएको छ । यस्तै वायुयान निर्माता कम्पनीले तोकेको इन्जिन पर्फमेन्स रिलायविलिटी, अन्तर्राष्ट्रिय प्रचलन, वैकल्पिक वायुयानको उपलब्धताको आधार र नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेका मापदण्ड पूरा गरेमा सिङ्गल इन्जिन भएका वायुयानलाई निजी तथा तालिम प्रयोजनको लागि अनुमति दिन सकिनेछ । अहिले नेपालमा सिङ्गल इन्जिन जहाज उडानमा रोक लगाइएको छ ।

यस्तै अस्वस्थ प्रतिस्पर्धाका कारण आन्तरिक वायुसंस्था पलायन हुन नदिनको लागि मर्जरलाई प्रोत्साहन दिने, देशको आवश्यकता, माग, लगानी र आम्दानीलाई हेरेर मात्रै नयाँ वायुसेवा कम्पनी दर्ता गरिने, नयाँ र अहिले सञ्चालनमा रहेका वायुसेवा कम्पनीले थप विमान ल्याएमा काठमाण्डौ बाहिरका विमानस्थलमा सञ्चालन आधार रहने गरी इजाजत दिइने पनि हवाई नीतिको मस्यौतामा उल्लेख छ ।

यस्तै मन्त्रालयले तोकेको हवाई भाडाको सीमा कार्यान्वयन नगर्ने र अस्वस्थ प्रतिस्पर्धा गर्ने कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले हस्तक्षेप गरेर कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।