काठमाडौं, माघ २२ । अर्थमन्त्री डा. युवराज खतिवडाले आम सञ्चारका माध्यमबाट सरकारले गरेका राम्रा कामको पर्याप्त प्रचार हुन नसकेको निश्कर्ष सुनाउनु भएको छ । बल्खुमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको भवन शिलान्यास गर्दै अर्थमन्त्री सञ्चारमाध्यमले नागरिकमा जागरण ल्याउने र सरकारले गरेका राम्रा कामको प्रचार गर्न आवश्यक रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको हो ।
अर्थमन्त्री खतिवडाले नैतिक र समाजिक मूल्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै नैतिक मूल्य र मान्यतालाई पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव पनि दिनुभयो । ‘पत्रकारिताको अध्ययनमा प्रविधिको प्रयोगलाई बढाउनु पर्दछ । डिजिटल प्रविधिसहितको भवन निर्माण यसैको संकेत हो,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘नयाँ र डिजिटल मिडियाको प्रयोगले सञ्चारमाध्यमलाई विश्वसनीय बनाउदै लगेको छ ।’ अर्थमन्त्री खतिवडाले छापा माध्यमको लोकप्रियता अझै नघटने आफ्नो बुझाइ पनि राख्नुभयो ।
‘डिजिटल मिडियाको बढ्दो प्रयोगले छापा माध्यमको लोकप्रियता घट्ने हो कि भन्ने चिन्ता व्याप्त छ तर छापा माध्यमको आफ्नो छुट्टै महत्व रहेकाले यसको विश्वसनीयता घटदैन भन्ने मलाई विश्वास छ,’ अर्थमन्त्री खतिवडाको भनाई थियो । उहाँले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एउटै संस्थाका रूपमा विकास गर्ने गरी ऐन निर्माण गर्न लागिएको जानकारी दिदैं खोज अनुसन्धान र अन्वेषणमूलक शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेकाले यसका लागि विश्वविद्यालय अनुदान आयोगलाई पर्याप्त बजेट उपलव्ध गराउन लागेको जानकारी दिनुभयो । ‘प्राविधिक, वैज्ञानिक र व्यवसायिक शिक्षामा सरकारको सहयोग रहन्छ, शिक्षाको विकासका लागि सरकारले नीजि क्षेत्रसँग पनि आवश्यक सहकार्य गर्दै अघि बढ्छ,’ अर्थमन्त्री खतिवडाको भनाई थियो ।
उहाँले सरकारले सबै स्थानीय तहसम्म इन्टरनेटको पहुँच पुर्याउन लागेको जानकारी पनि दिनुभयो । कार्यक्रममा त्रिविका पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग प्रमुख चिरञ्जीवि खनालले २१ करोड ५५ लाख ९५ हजार लागतमा उक्त भवन निर्माण हुन लागेको जानकारी दिनुभयो । उहाँले विभागमा जनशक्ति अभावका कारण कार्यसम्पादनमा समस्या आउने गरेको उल्लेख गर्दै आवश्यक जनशक्तिको व्यवस्था गरी काम कारवाहीलाई प्रभावकारी बनाइने बताउनुभयो ।
डिजिटल मिडियाको बढ्दो प्रयोगले छापा माध्यमको लोकप्रियता घट्ने हो कि भन्ने चिन्ता व्याप्त छ तर छापा माध्यमको आफ्नो छुट्टै महत्व रहेकाले यसको विश्वसनीयता घटदैन भन्ने मलाई विश्वास छ
इन्जिनियरिङ अध्ययन संस्थानका परामर्श सेवाका प्रमुख नारायण गौतमले पत्रकारिताका विविधि आयमलाई सङ्केत गर्ने गरी भवनको डिजाइन तयार गरिएको बताउनुभयो । उहाँका अनुसार नयाँ बन्ने भवनमा पुस्तकालय, प्रयोगशालासहित ७० जना विद्यार्थी अट्ने कक्षा कोठा र रेडियो, टेलिभिजन प्रशारण हुने प्रविधि जडान गर्न मिल्ने व्यवस्था गरिएको छ । भवन निर्माण समितिका संयोजक देवराज अर्यालका अनुसार दुई वर्षमा बन्ने भवन साढे चार तलाको हुनेछ ।
प्रतिक्रिया दिनुहोस्