जनता टाइम्स

२२ माघ २०७६, बुधबार १९:५०

बिज्ञापन ब्यवसायी राजेन्द्र अर्यालको प्रष्टिकरण : बिनोद चौधरीसँग व्यावसायिक मात्र नभएर पारिवारिक सम्बन्ध छ


काठमाडौं, माघ २२ । सरकारबिरुद्ध मिसन चलाउने काममा आफू सहभागी नरहेको त्रिकोण एडभरटाइजिङका सञ्चालक राजेन्द्र अर्यालले प्रष्टिकरण दिनुभएको छ । प्रतिष्ठित उद्योगपति बिनोद चौधरीसँग पारिवारिक सम्बन्ध रहेको जनाउँदै अर्यालले आफू सरकारबिरुद्ध पेड न्यूज छपाउने मिसनमा भने नरहेको बताउनु भएको हो । समाचारस्रोतले पनि चौधरीसँगकै घणिष्ठताको आधारमा पछिल्लो समय सरकारबिरुछ पेड न्यूज उत्पादन गरी मिडियामा छपाउन भुमिका खेलेको बताएको थियो । आगामी दिनमा हामी यस बिषयमा थप खोजीमा रहने पाठकलाई जानकारी गराउँदै अर्यालको भनाईलाई जस्ताको तस्तै स्थान दिएका छौं ।

यस्तो छ अर्यालको भनाई

श्रीमान सम्पादकज्यू
जनताटाइम्स डट कम
काठमाडौं ।

विषयः समाचार प्रकाशित भएको सम्बन्धमा ।

महोदय,
त्यस जनताटाइम्स डट कममा “गोकर्ण रिसोर्ट प्रकरणमा प्रधानमन्त्री ओलीले खोलेको तथ्य ः यी हुन् सरकारविरुद्ध उत्रिएका व्यापारी” शीर्षकमा प्रकाशित समाचारमा अनावश्यक रुपमा म त्रिकोण एडभरटाइजिङको सञ्चालक राजेन्द्र अर्यालको समेत नाम जोडिएकोले र त्यसले मेरा आफन्त, इष्टभित्र, शुभचिन्तक एवं आम पाठकमा भ्रम सिर्जना गरेकोले उक्त समाचारको खण्डन गर्न चाहन्छु । प्रथमतः त्यस अनलाइनलाई सूचना उपलब्ध गराउने स्रोतले मेरो नाम जोडेको र ती कुराहरु सत्य–तथ्यमा आधारित नरहेको व्यहोरा पनि जानकारी गराउन चाहन्छु ।

म विगत तीन दशकदेखि ऐन–कानुन, नियम, निष्ठा, इमान र व्यावसायिक मर्यादा एवं आचारसंहिताको परिधिभित्र रहेर व्यवसाय गर्दै आएको व्यक्ति हुँ । मैले गर्दै आएको व्यापारको प्रकृति प्रतिष्ठित व्यापारी, उद्योगपतिदेखि सर्वसाधारणसँग समेत निरन्तर सम्पर्क र भेटघाट गरिरहनुपर्ने खालको छ भन्ने कुरा यहाँलाई मैले सम्झाइरहन नपर्ला । किनभने चर्को प्रतिस्पर्धाको आजको युगमा जति बढी भेटघाट भयो, जति बढी व्यवसायीसँग सुमधुर सम्बन्ध बनाउन सक्यो व्यवसाय टिकाउन उति नै बढी सजिलो पर्छ । नत्र बन्द गरेर भाग्नुपर्ने हुन्छ । तसर्थ मैले दिनहुँ अनगिन्ती मानिसहरुसँग घेटघाट गरिरहेको हुन्छु । त्यसैका आधारमा स्रोतले मेरो नाम जोडेको हुन सक्छ भन्ने मेरो बुझाइ छ ।

जहाँसम्म प्रतिष्ठित उद्योगपति श्री विनोद चौधरीज्यूसँगको मेरो उठबसको कुरा छ, उहाँसँग हाम्रो व्यावसायिक मात्र नभएर पारिवारिक सम्बन्ध छ । त्यही नाताले टार्न नसकेर पनि होला चौधरी ग्रुपको एउटा उत्पादनको विज्ञापनको सानो हिस्सा मेरो एजेन्सी त्रिकोणमार्फत रिलिज हुन्छ । त्योभन्दा बढी न त हामीबीच कुनै ठूलो व्यापारिक कारोबार छ न अन्य लुकेको स्वार्थ नै त्यसैका आधारमा हामीजस्ता सामान्य व्यवसायीलाई त्यत्रो गम्भीर आरोप लगाउनु कति अन्याय होला ? यहाँजस्ता विद्वान व्यक्तित्वलाई मैले सम्झाइरहनु पर्दैन ।  पछिल्लो समय त तीन महिनादेखि उहाँसँग मेरो भेट भएको थिएन यही माघ १७ गते तपाईंको अनलाइनमा समाचार प्रकाशित भइसकेपछि माघ १७ गते एकपटक चितवनमा भेट भयो । समाचारमा नाम उल्लेखित अर्का व्यवसायी चन्द्रप्रसाद ढकालसँग मेरो एजेन्सीको कुनै पनि व्यसायिक सम्बन्ध (व्यापाररकारोबार) केही पनि छैन ।

समाचार स्रोतले आरोप लगाए जस्तो दसौं करोडको कथित डिलमा मध्यस्थकर्ताको भूमिका खेलेर मूलधारका प्रतिष्ठित मिडिया सञ्चालक र सम्पादकलाई मनाएर आफू अनुकूल समाचार लेखाउन सक्ने मेरो हैसियत भएको भए साढे तीन दशकअघि सुरु गरेको विज्ञापन एजेन्सीलाई टिकाइराख्ने चिन्ता मलाई हुँदैनथ्यो, म त्यही स्तरको ‘पावर ब्रोकर’ हुन्थेँ होला । तर, मलाई त नवपवर्तनमा आधारित र विल्कुलै फरक सोच बोकेर आएको नयाँ पुस्ताका प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गरेर कसरी व्यवसाय चलाउने भन्ने चिन्ताले रातदिन पिरोलिरहन्छ । कर्मचारीको तलब, अन्य खर्च र आफ्नो जीवनको ऊर्जाशील समय विताएको यो व्यवसायलाई आफ्नो पालासम्म टिकाउन संघर्ष गरिरहेको व्यवसायीलाई त्यस्तो प्रतिष्ठित मिडियाले यति गम्भीर आरोपमा मुछिदिँदा म हतप्रभ भएको छु ।

मैले आजसम्म कुनै राजनीतिक दलको सदस्यता लिएको छैन । देश र जनताका लागि लड्ने सबै पार्टीका नेताप्रति मेरो उत्तिकै श्रद्धा र आदरभाव छ । मलाई राजनीति गर्ते फुर्सद पनि छैन र राजनीतिमा दौडिन थालेँ भने मेरो व्यवसायी चल्दा पनि चल्दैन । पैसा कमाउन अथवा कुनै निहित स्वार्थपूर्तिका लागि मैले आजसम्म कुनै किसिमको अनैतिक काम गरेको छुइनँ र भविष्यमा खानै नपाए पनि अनैतिक काम नगर्ने संकल्प गर्दछु ।
अतः उक्त समाचार स्रोतले लगाएका सम्पूर्ण आरोपहरु नितान्त कल्पनामा आधारित र म एवं मेरो विज्ञापन एजेन्सीको साख खस्काउने उद्देश्यले प्रेरित रहेको व्यहोरा जानकारी गराउँदै सोको खण्डन ताहाँको प्रतिष्ठित अनलाइनमा प्रकाशित गरिदिनु हुन विनम्र आग्रह गर्दछु ।
धन्यवाद !

राजेन्द्र अर्याल
फोनः ९८५११५५३५४

(समाचारस्रोत प्रति भने हामी पुर्ण बिश्वस्थ छौं । सं)

गोकर्ण रिसोर्ट प्रकरणमा प्रधानमन्त्री ओलीले खोलेको तथ्य : यी हुन सरकारबिरुद्ध उत्रिएका ब्यापारी

गोकर्ण रिसोर्ट प्रकरणमा प्रधानमन्त्री ओलीले खोलेको तथ्य : यी हुन सरकारबिरुद्ध उत्रिएका ब्यापारी