जनता टाइम्स

२३ माघ २०७६, बिहीबार ०३:२९

प्रधानमन्त्री ओलीलाई गृहसचिव प्रेम राईको त्यो सूचना, जस्ले फिर्ता ल्यायो बालुवाटारको सरकारी जग्गा


काठमाडौं, माघ २३ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हडप्ने भूमाफिया र राजनीतिक नेतृत्वबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार बिशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी जग्गा फिर्ता ल्याउन सुझावसहित अख्तियारले तात्कालिन उपप्रधान तथा भूमि सुधार मन्त्री बिजय गच्छद्धारसहित तीन मन्त्री र सचिवहरुसहित १७५ जनाबिरुद्ध मुद्धा दायर गरेको हो ।

अख्तियारको यो कदमसँगै सत्ता र शक्तिको आडमा हडपिएको ललिता निवासको सरकारी जग्गा अव सरकारकै नाममा आउने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ अडानका कारण अघि बढेको ललिता निवासको छानविनले बुधवारबाट पुर्णता पाएको छ । अव सरकारले सवै जग्गा आफ्नो नाममा ल्याउनेछ । प्रधानमन्त्री ओलीलाई तात्कालिन गृहसचिव प्रेमकुमार राईले दिनुभएको सूचनाको आधारमा ललिता निवासको जग्गाको बिषयमा छानविन अघि बढेको हो । ललिता निवासको जग्गा हडपिएको बिषयमा धेरै पहिलेदेखि विभिन्न निकायमा उजुरी परिरहेको थियो ।

२०४७ सालमा ललिता निवासलगायत ६ वटा दरबार तत्कालीन पञ्चायत सरकारले जफत वा अधिग्रहण गरेको हो ? छानविन गरी यथार्थ विवरण दिनु भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई निर्देशन दिएको थियो। तर गृहले लामो समयसम्म त्यो निर्देशनलाई कुनै छानविन नगरी यत्तिकै राखेको थियो। विभिन्न व्यक्तिहरुले सरकारी जग्गा व्यक्तिको नाममा लगियो भन्ने उजुरी दिएपनि छानविन अघि बढेन । अधिवक्ता युवराज कोइरालाले लामो समयदेखि यस बिषयमा उजुरी दिनुभएको थियो । प्रेम राई गृहसचिव भइसकेपछि उहाँलाई उजुरीका बारेमा जानकारी भयो । उजुरीबारे फेरि छलफल भएपछि गृहसचिव राईले प्रधानमन्त्री ओलीलाई घटनाबारे जानकारी गराउनुभयो। प्रधानमन्त्री ओलीले तत्कालै छानविन समिति बनाउन गृहसचिव राईलाई निर्देशन दिनुभयो ।

गृहसचिव राईले प्रधानमन्त्रीको निर्देशनअनुसार छानविन समिति बनाउने भन्दै पूर्वसचिव शारदाप्रसाद त्रिताललाई नेतृत्वका लागि प्रस्ताव गर्नुभयो । ‘प्रेमजीले मलाई प्रस्ताव गर्नुभएको हो। मैले अनियमितता रोकथामका लागि पहल हुन्छ भने गरौं भनेर स्वीकृति जनाएपछि समिति बनेको हो। सानो टोली बनाउन प्रस्ताव गरेको थिएँ। त्यसै अनुसार ३ सदस्यीय टोली बन्यो,’ ललिता निवासको सरकारी जग्गा हडपिएको बिषयमा यथार्थ बाहिर ल्याउने समितिका संयोजक त्रितालले भन्नुभयो । त्रिताल समितिले बिस्तृत छानविन गरी प्रतिवेदन बुझाएपछि सरकारले सोफाइल अख्तियारमा पठाएको थियो भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) लाई पनि छानविनका लागि निर्देशन दिएको थियो ।

सोही फाइलको आधारमा अख्तियारले बिस्तृत अनुसन्धान गरी मुद्दा दायर गरेको हो । ललिता निवास प्रकरणमा प्रधानमन्त्री ओली, तात्कालिन गृहसचिव (हाल अवकाश) राई, छानविन समिति संयोजक पूर्वस्चिव त्रिताल र अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे र आयुक्तहरु नायकका रुपमा देखिएका छन । बहुदल आएसँगै हडप्न सुरु गरिएको बालुवाटार काण्डलाई यिनै नायकहरुले सल्टाउनु भएको छ । अख्तियारले मुद्दा दायर गरेसँगै अवको मन्त्रिपरिषदबाट बालुवाटारको जग्गा औपचारिक रुपमा सरकारको नाममा ल्याउने निर्णय हुनेछ ।