जनता टाइम्स

२३ माघ २०७६, बिहीबार ११:१३

बालुवाटार प्रकरणमा मुछिएकालाई तेहेरो झट्का : सम्पत्ति छानबिन पनि शुरु


काठमाडौं, माघ २३

बालुवाटार जग्गा प्रकरणमा जोडिएकालाई तेहेरो झट्का लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको भोलीपल्टै सम्पत्ति शुद्धीकरकण विभागले पनि अनुसन्धान थालेको छ ।

केही दिनभित्रै तिनै व्यक्ति र केही थप नयाँलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ठगी र सरकारी कागजपत्र किर्ते गरेको अभियोगमा मुद्दा दायर गर्दैछ । जसका कारण सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न उच्च राजनीतिक, प्रशासनिक व्यक्ति तथा व्यापारिक घरानामाथि संकट बढेको हो । अख्तियारले १ सय ७५ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने सिआइबीले १ सय जनाबढिलाई मुद्दा चलाउने तयारी गरेको छ ।

बिहीबारबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यो प्रकरणमा मुख्य भूमिका खेल्ने र अधिकतम लाभ लिनेहरूको सम्पत्ति छानबिन गर्न सुरु गरेको हो । विभागमा महानिर्देशक रूपनारायण भट्टराईले ‘पोलिटिकल्ली एक्सपोज’ भएकाहरूमाथि अधिकृत तोकेर अनुसन्धान थालिएको जानकारी दिनुभयो । विभागले यसअघिदेखि नै पूर्वासचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतको सम्पत्ति छानविन गरिरहेको थियो ।

अब भने पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ, पूर्वसचिवहरू छविराज पन्त, दिनेशहरि अधिकारी, व्यापारी मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीको सम्पत्ति छानविन शुरु गरेको छ । विभागले भने उनीहरूको सबै सम्पत्ति खोजेर स्रोत नखुल्ने सम्पत्ति जफत गर्ने गरी मुद्दा चलाउनेछ ।