जनता टाइम्स

२३ माघ २०७६, बिहीबार १३:४०

एक दर्जन सार्वजनिक स्थलमा सम्पदा झल्कने मूर्ति प्रतिस्थापन गर्दै काठमाडौं महानगर


काठमाडौं, माघ २३

काठमाडौँ महानगरपालिकाले गौशाला, सिनामंगल, ववरमहल, भद्रकाली, रंगशाला, रत्नपार्कलगायतका सार्वजनिक स्थान, सडक छेउ वा पर्खालमा कला, संस्कृति, परम्परा तथा सांस्कृतिक सम्पदाहरु झल्किने गरी भित्रेचित्र तथा स्कल्पचर (मुर्ति) प्रतिस्थापनका लागि प्रक्रिया अघि बढाउने भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के. के. कर्माचार्यको संयोजकत्वमा गठित काठमाडौँ महानगरपालिका क्षेत्रभित्र स्थापना गरिने भित्तेचित्र तथा स्कल्पचर सम्बन्धि सुझाव पेश गर्न गठिन निर्देशक समितिको प्रतिवेदन–२०७६ बुझ्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो बताउनुभएको हो ।

‘महानगरले यसका लागि रु १० करोड रुपैयाँ बजेट छुट्याएको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘अहिले नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरेर केही ठाउँमा कामको थालनी गरिहालौँ भन्ने मेरो चाहना छ । स्कल्पचरका लागि केही समय लाग्न सक्छ । त्यसैले भित्ते चित्रका लागि हामीले केही नमूनाका रुपमा भए पनि तुरुन्तै अघि बढाउनुपर्छ ।’ समितिले प्रतिवेदनमा भित्रेचित्र तथा स्कल्पचरमा हाँडिगाउँको जात्रा, धुन्या वाजा, चाडपर्वका फलफुल, अष्टमात्रिका, जंकोका नमूना चित्रलगायत राख्न सकिने सुझाव दिएको छ ।

प्रतिवेदन बुझाउँदै कुलपति कर्माचार्यले ववरमहलमा इन्द्रजात्रा र सिनामंगलमा हाँडिगाउँ जात्राको भित्तेचित्र राख्न सकिने बताउनुभयो । समितिका सदस्यहरुले भित्तेचित्रहरुमा चित्रकथा पनि राख्न सकिने बताउनुभयो । मूर्ति र आकृति निर्माणका लागि नियमित काम गर्ने समूह बनाएर, स्थानको उपलब्धता र आवश्यकताका आधारमा काम गर्न सकिन्छ, आफूले गरेको शिफारिसका बारेमा कुलपति कर्माचार्यले जानकारी दिनुभयो ।

‘ऐतिहासिक, साँस्कृति तथा पर्यटकीय शहर काठमाडौँलाई सुन्दर, सफा तथा कला र संस्कृतिले पूर्ण बनाएर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षणको केन्द्रका रुपमा विकसित सहर बनाउन पनि सहरका विभिन्न सार्वजनिक स्थानको पहिचान गरी ती स्थानमा कलात्मक साँस्कृतिक भित्तेचित्र चित्रकला तथा मूर्तिकला स्थापना गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘प्रतिवेदन अनुसार काम सुरु होस् भन्ने मेरो चाहना छ ।’

समितिका सदस्य सचिव एवं सम्पदा तथा पर्यटन बिभागका प्रमुख रामबहादुर थापाले सार्वजनिक ठाउँमा कला, मूर्ति, प्रतिमा वा आकृति राख्दा काठमाडौं उपत्यकाको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा सम्पदाको गरिमा बिम्बित कसरी गर्न सकिने भन्दै समितिको प्रतिवेदन अनुसार कार्यान्वयन प्रक्रियालाई अघि बढाउन पहल गर्ने बताउनुभयो । २०७६ साउन १० गते बसेको नगर कार्यपालिकाको बैठकले स्कल्पचर तथा कलाकृति प्रतिस्थापन निर्देशक समिति गठन गर्ने निर्णय गरेको थियो ।

समितिमा कर्मचार्य र थापासँगै नेपाल ललितकला प्रतिष्ठानकै प्राज्ञ धर्मराज शाक्य र सुष्मा राजभण्डारी रहनुभएको छ । त्यसैगरी समितिमा कलाकारहरु एकाराम सिंह र सुनिलकुमार रञ्जित पनि रहनु भएको छ भने काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका सदस्य मनराजा रञ्जित पनि सदस्य रहनु भएको छ ।