जनता टाइम्स

२५ माघ २०७६, शनिबार १७:००

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालको पहिलो जित, अमेरिका ३५ रनले पराजित


काठमाडौं, माघ २५

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले पहिलो जित निकालेको छ । नेपालले अमेरिकामाथी ३५ रनको जित निकाल्दै महत्वपूर्ण अंक बटुलेको छ । नेपालले दिएको १९१ रनको विजय लक्ष्य पछाएको अमेरिका ४४ दशमलव १ ओभरमा अल आउट हुँदै १५५ रनमा समेटिएपछि घरेलु मैदानमा जित निकालेको हो ।

नेपाललाई जित दिलाउन करन केसीले सर्वाधिक ४ विकेट लिए । ७ दशमलव १ ओभरमा १ मेडन राख्दै १५ रन खर्चिएका थिए । यस्तै, सुशन भारीले तीन, सन्दिप लामिछानेले दुई तथा कुशल मल्लले १ विकेट लिए । अमेरिकाका लागि इयान होल्याण्डले सर्वाधिक ७५ रन बनाए ।

कीर्तिपरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । युवा खेलाडी कुशल मल्लको किर्तिमानी डेब्यु एक दिवशीय अर्धशतकको मद्धतले नेपालले जित निकाल्न सफल भयो । नेपालका लागि विनोद भण्डारीको अर्धशतक प्रेरित इनिङले नेपालमा जितमा सहजता ल्याएको थियो ।

कुशल नेपालका लागि एकदिवसीयमा अर्धशतक प्रहार गर्ने सातौं र विनोद आठौं खेलाडी समेत बने । विनोदले ५९ र कुशलले ५० रन बनाए । शरद भेषावरले चोटका कारण सिरिज गुमाएपछि उनको स्थानमा टिममा आएका सुवास खकुरेलले कप्तान ज्ञानेन्द्र मल्लसँग इनिङ्सको शुरुवात गरेका थिए । तर सुवास व्यक्तिगत ३ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए ।

ज्ञानेन्द्र र पारसले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा पुगेका उपकप्तान दिपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए । पारस खड्का २१ रन बनाएर आउट भए ।

लगत्तै आरिफ शेख २ रन बनाएर आउट भए । ४९ रन हुँदा ५ विकेट गुमाउँदै धरासयी भएको नेपालको इनिङ्स कुशल मल्ल र विनोद भण्डारीले सम्हाले । कुशलले विनोदसँग छैठौं विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।