जनता टाइम्स

२८ माघ २०७६, मंगलवार १७:०७

आठ जनाको ज्यान गएको रिसोर्टमाथी सरकारको कारबाही


काठमाडौं, माघ २८

आठजना भारतीय पर्यटकको निसास्सिएर ज्यान गएपछि मकवानपुर थाहा नगरपालिका–४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरामा रिसोर्ट निलम्बनमा परेको छ । नेपाल सरकार सचिवस्तर निर्णयबाट २६ माघमा निर्णय गरी रिसोर्ट निलम्बन गरेको हो ।

गत ६ माघमा साँझ दामनस्थित एभरेष्ट पानोरामा रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटक निसास्सिएर मृत्यु भएको घटनालाई लिएर पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको छ । २०७० चैतबाट फच्र्युना इन्टरनेशनल कम्पनीले संचालन गरेको उक्त रिसोर्टले पर्यटन ऐन, २०३५ को दफा १० बमोजिम पर्यटन विभागबाट तोकिए बमोजिम स्तर वर्गीकरण समेत नगराएको, रिसोर्ट संचालनको क्रममा पर्याप्त सुरक्षात्मक र व्यवस्थापकीय कमजोरी पाइएको निलम्बनपत्रमा उल्लेख छ ।

पर्यटकको मृत्यु भएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानबिन गर्न समिति गठन गरी घटनाको अनुसन्धान गराउनु भएको थियो । अबको तीन महीनापछि रिसोर्ट संचालन प्रक्रिया पुर्‍याएर मात्र संचालन गर्न निलम्बन पत्रमा भनिएको छ ।