जनता टाइम्स

२९ माघ २०७६, बुधबार १५:४५

कीर्तिपुर मैदानमा नेपाली क्रिकेटरको कीर्तिमानै कीर्तिमान


काठमाडौं, माघ २९ । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिसीय क्रिकेटमा नेपालले विश्व कीर्तिमान नै कीर्तिमान रचेको छ । टियु मैदान कीर्तिपुरमा आज भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बनाएको हो । नेपालले अमेरिकालाई आठ विकेटले पराजित गर्न पनि सफल भएको छ ।

अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि पारस खड्काले अविजित २० रन बनाए । पारसले १२ बलमा तीन चौका र एक छक्का हानेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले अविजित १५ रन बनाए । उनले ११ बलमा दुई चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका थिए । ज्ञानेन्द्र मल्ल एक र सुवास खकुरेल शून्यमा आउट भए । एकदिवसीय क्रिकेटमा नेपालको यो सर्वाधिक छिटो जित पनि हो ।

आज भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा सवै विकेट गुमाउँदै ३५ रनमा समेटिएको थियो । जुन एकदिवसीयको सर्वाधिक कम रनको योगफल हो । यसअघि सन् २००४ मा श्रीलंकासँग जिम्बावे १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो । नेपालले १५ वर्षपछि श्रीलंकाको सो कीर्तिमान तोडेको छ । इतिहास रच्दै अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ विकेट लिएका थिए । उनले ६ ओभरमा एक मेडन राखेर १६ रन खर्चिएका थिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन हो ।

नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका छन । यस्तै सुशन भारीले चार विकेट लिए । सुशनले तीन ओभरमा एक मेडन राखेर पाँच रन खर्चिएका थिए । अमेरिकाका लागि जाभियर मार्सलले सर्वाधिक १६ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउनै सकेनन । प्रायः ब्याट्सम्यान शुन्य रनमा पेभेलियन फर्किए । आजकै खेलबाट नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पनि पहिलो श्रेणीको क्रिकेटमा आफ्नो ५० खेल पूरा गरेका छन् । ज्ञानेन्द्र पहिलो श्रोणीका सर्वाधिक खेल खेल्ने खेलाडी पनि बनेका छन । ज्ञानेन्द्रले पहिलो श्रोणीका एक हजार एक सय ४८ रन बनाएका छन् । जसमा उनको ६ वटा अर्धशतक छ । नेपालका लागि पहिलो श्रेणीका सर्वाधिक रन बनाउने खेलाडी भने पूर्वकप्तान पारस खड्का हुन् । पारसले ४४ खेल खेल्दै एक हजार चार सय ९७ रन बनाएका छन् । जस्मा तीन सतक र नौ अर्धशतक सामेल रहेको छ ।

अमेरिकाविरुद्धको दोस्रो जिसँगै सिरिजमा नेपालले चार अंक बनाएको छ । नेपाल छैटौं स्थानमा छ । सिरिजको शीर्ष स्थानमा रहेको ओमनले १० खेलबाट १६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको अमेरिकाको १२ खेलबाट १२ अंक बनाएको छ । सात राष्ट्र सहभागी लिग–२ मा नेपाल, अमेरिका र ओमनसहित स्कटल्यान्ड, युएई, नामिविया र पपुवा न्युनिगी छन् । अहिलेसम्म स्कटल्यान्ड नौ अंकसहित तेस्रो स्थानमा छ । नामिवियाको आठ र युएईको सात अंक छ । पपुवा न्युगिनी अंकविहिन छ । लिगमा हरेक टोलीले ३६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछन् । जसबाट शीर्ष तीनमा रहने टोली सन् २०२३ को विश्वकप क्रिकेटमा छनोट हुनेछन ।