जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार १२:०१

सडक विभागले पिच गर्ने बित्तिकै भत्काउने होडबाजी


काठमाडौँ, फागुन १

कालोपत्र गरेको एक साता नपुग्दै ललितपुरको पुल्चोक–झम्सीखेल–सानेपा सडक भत्काउन थालिएको छ । पाइपलाइन मर्मत गर्न भन्दै डिभिजन सडक कार्यालय ललितपुरले एक साताअघि पिच गरेको उक्त सडक काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले भत्काएको हो ।

सडक खन्न केयूकेएलले स्वीकृतिसमेत नलिएको सडक विभागका महानिर्देशक केशव शर्माले बताउनु भयो । एक महिनाअघि पनि पाटन कृष्ण गल्लीमा विनास्वीकृति सडक खनिएको उहाको भनाइ छ । समन्वयविनै केयूकेएलले उक्त काम गरेपछि डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख अमृतमणि रिमाल र महानिर्देशक शर्माले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आक्रोशसमेत पोख्नु भएको छ । यसबारेमा सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले संसदको विकास तथा प्रविधि समितिको बैठकमा समेत कुरा उठाउनु भएको छ ।

गत वैशाखमा पनि केयूकेएलले पुतलीसडकमा कालोपत्रे गर्दागर्दै खडक खनेको थियो । स्वीकृतिविनै सडक भत्काइएको विभागले जनाएको छ । उपमहानिर्देशक सापकोटा कालोपत्रे गरेको एक वर्षसम्म मर्मतसम्भारको अवधि भएकाले त्यसबीचमा कसैले सडक बिगार्न नहुने बताउनु हुन्छ । ‘विभागले चाहे पनि मर्मत गर्न मिल्दैन, अरू ठेक्काको त कुरै छाडौं,’ उहाले भन्नुभयो, ‘तर केयूकेएल, टेलिकमले मनपरी खन्ने गरेका छन् ।’ उहाका अनुसार सबभन्दा बढी समन्वय गर्नुपर्ने निकाय विद्युत् प्राधिकरण हो । प्राधिकरणले पनि विनास्वीकृति पोल गाड्ने र हटाउने गरिरहेको उहाले बताउनु भयो ।

केयूकेएलका महाप्रबन्धक मिलन शाक्यले भने आ–आफ्नो निकायको वार्षिक कार्यक्रमअनुसार निर्धारित समयमा काम सम्पन्न गर्नुपर्ने भएकाले समस्या हुने गरेको बताउनु भयो । सडक विभागले कालोपत्र गरेको केही दिन नबित्दै खानेपानीले पाइप, टेलिकम र प्राधिकरणले पोल गाड्ने क्रम निरन्तर चलिरहेको छ । यसले सडक कुरूप बन्नुका साथै धुलोधुवाँको मात्रा बढेको छ । सडकको दायाँबायाँ खानेपानी, विद्युत, टेलिफोनलगायतका तार भूमिगत बनाउने (युटिलिटी करिडोर) सम्बन्धी कानुन बनेमा यो समस्या केही हदसम्म समाधान हुने सरकारी अधिकारी बताउँछन् ।