जनता टाइम्स

१ फाल्गुन २०७६, बिहीबार १६:४१

केयुकेएएल कर्मचारीलाई मन्त्री मगरको निर्देशन : भोक–निद्रा नभनी काम गर्नुपर्ने हुन्छ, तयार हुनुहोस


काठमाडौं, फागुन १ । खानेपानीमन्त्री बिना मगरले उपत्यकाबासीले भोगिरहेका खानेपानीको समस्या हल गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अझै सक्षम भएर थप मेहनतका साथ अघि बढ्नुपर्ने सरकारको निश्कर्ष सुनाउनु भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को बाह्रौं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै मन्त्री मगरले काठमाडौं उपत्यकाबासीले बर्षौंदेखि झेलिरहेका समस्यालाई अब हल गर्नुपर्ने दिन नजिकिंदै गईरहेकाले केयुकेएल सक्षम बन्नुपर्ने बताउनुभयो । ‘मेलम्ची आईसकेपछि तपार्ईहरुले धेरै काम गर्नुपर्नेछ, तपाईहरुले सुरुका केही वर्ष धेरै मेहनत गर्नुपर्नेछ । यो समयमा सायद भोक र निद्रा नभनी काम गर्नुपर्ने हुनसक्छ । त्यसको लागि तयार भएर बस्नुहोला,’ मन्त्री मगरले भन्नुभयो ।

मेलम्ची जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकाले केयुकेएलले चुस्त व्यवस्थापकीय ढंगबाट काम गर्नुपर्ने मन्त्री मगरले बताउनुभयो । हिजोको कठिनाई, समस्या र अप्ठ्यारो भोगाईबाट पाठ सिक्दै अब परिश्रमका साथ काम गर्नुपर्ने समय आएको उहाँले बताउनुभयो । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘मेलम्चीको पानी आउन अब धेरै समय छैन । मेलम्चीको पानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् ।’ केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

मन्त्रालयका सचिव माधव बेल्बासेले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर र क्षमता बढाएर अघि गरेर बढ्नुपर्ने बताउनुभयो । सचिव बेल्बासेले पुरानो वितरण प्रणालीलाई नछोडीकन मेलम्चीको पानी पनि समानुपातिक ढंगले वितरण गर्ने गरी क्षमता वृद्धि गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा मन्त्री मगरले केयुकेएलले गुनासो सम्बोधन गर्न विकास गरेको मोबाइल एप र रिजर्भवायर पानी ट्यांकीमा पानीको क्षमता मापन गर्ने प्रविधिको सार्वजनिक गर्नुभएको थियो । धारामा पानी आए नआएको र चुहावट भएको अवस्थाबारे जानकारी दिने र गुनासो सम्बोधन गर्नेगरी एप तयार गरिएको छ ।

मन्त्री मगरले केयुकेएलमा कार्यरत अवकाश पाएका कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो भने उत्कृष्ट शाखाहरुलाई पुरस्कृत गर्नुभएको थियो ।