काठमाडौं ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएको पर्यटन मन्त्रालयले जनाएको छ। पर्यटन मन्त्रालयका प्रवक्ता सुरेन्द्र थापाले मृतक दुवै जना भारतिय रहेको पुष्टि गर्नुभयो ।
आरोहणको व्यवस्थापनको जिम्मा लिएको पीक प्रमोशन कम्पनीका अध्यक्ष केशव पौडेलका अनुसार मृत्यु भएका आरोहीहरू पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य हुन्। नेपाल र चिनको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजंघाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ।
शिखरमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको हो भने करारको आरोहणकै क्रममा मृत्यु भएको पौडेलले जानकारी दिनुभयो । ‘झन्डै ८,००० को उचाइमा पुगेपछि करारलाई लेक लागेछ। बाटोमै फरक व्यवहार देखाउन थालेछन् र आक्रामक भएछन्। पछि उनी अचेत भएर ढलेछन्’, पौडेलले भन्नुभयो । शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवै जनाको मृत्यु भएको हो । पौडेलका अनुसार बुधवार राति आठ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि चिलेका पर्वतारोही भने सम्पर्कविहीन भएका छन्।
‘चिलेका पर्वतारोहीको जीपीएस उपकरण बन्द भएको छ। ब्याट्री सकिएर होला… उनी कहाँ र कुन अवस्थामा छन् हामी त्यो पत्ता लगाउने प्रयासमा छौँ,’ पौडेलले भन्नुभयो । उहाका अनुसार उद्धारकर्ताहरू करारको शव भएको ठाउँमा बिहीवार बिहानसम्म पुगेका थिएनन्।
प्रतिक्रिया दिनुहोस्