जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार २०:२३

यी हुन अर्थमन्त्रीका राजस्व चुहावट नियन्त्रण योजना


काठमाडौं, फागुन ७ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व चुहावट नियन्त्रण र भन्सार नाकाबाहेक अन्यत्रबाट हुने अवैध पैठारीलाई नियन्त्रण गर्ने बिषयमा योजनावद्ध रुपमा अघि बढन सम्बन्धित पक्षलाई निर्देशन दिनुभएको छ । उच्च स्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन समितिको आज बसेको बैठकमा सवैको प्रस्तुती सुनेपछि अर्थमन्त्री खतिवडाले सो निर्देशन दिनुभएको हो ।

अर्थमन्त्री खतिवडा सो समितिको संयोजक हुनुहुन्छ । बैठकमा अर्थमन्त्री खतिवडाले राजस्व चुहावट नियन्त्रण गर्न भन्सार नाका बाहेक अन्यत्रबाट हुने अवैध पैठारीलाई नियन्त्रण गर्नुको साथै राजस्व गस्तीको प्रभावकारिताका लागि जनशक्ति, उपकरण र सवारी साधनको भरपर्दो बन्दोवस्त मिलाउन निर्देशन दिनुभयो । यस्तै उहाँले संबेदनशील भन्सार नाकालाई विशेष निगरानी बढाउन, जिल्लास्तरीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक यथाशीघ्र राखी नियमित रूपमा बैठक बसाउने ब्यवस्था मिलाउन, बिल विजकहरूको बारेमा सुरक्षा निकायबाट खटिने कर्मचारीहरूलाई जानकारी दिन तालिम उपलब्ध गराउन पनि निर्देशन दिनुभयो ।

बैठकमा अर्थमन्त्री खतिवडाले राजस्व चुहावट नियन्त्रण ऐनमा हालै भएका संशोधनको विषयमा सरोकारवालाई जानकारी प्रदान गर्न साथै सीमा नाकामा रहने भन्सार प्रशासन, सुरक्षा निकाय लगायतले अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनमा सूचना आदान प्रदान गर्ने संयन्त्र विकास गरी अन्तर निकाय समन्वय वढाउन समेत निर्देशन दिनुभएको थियो ।

अर्थ मन्त्रालयका राजस्व ब्यवस्थापन महाशाखाका प्रमुखबाट राजस्व चुहावट नियन्त्रणको वर्तमान अवस्था र सुधारका क्षेत्रहरू विषयमा प्रस्तुतीकरणबाट शुरू भएको सो बैठकमा अर्थ सचिव शिसिर ढुंगाना, गृहसचिव महेश्वर न्यौपानेसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, विभागीय प्रमुख र सुरक्षा निकायका प्रमुखहरूले राजस्व चुहावट नियन्त्रणको लागि आ–आफ्नो संगठनले गरेका प्रयास, चुनौती र आगामी कार्यदिशाको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । बैठकमा अर्थसचिव ढुङ्गाना, गृह चिव न्यौपाने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डिल्लीराज घिमिरे, नेपाल प्रहरीका महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द खनाललगायतको उपस्थिति रहेको थियो ।