जनता टाइम्स

८ फाल्गुन २०७६, बिहीबार ०८:५९

दुई पूर्वडिएसपी पक्राउ, यस्तो छ अभियोग


काठमाडौं, फागुन ७ । आर्थिक अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका अवकाशप्राप्त दुई डिएसपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लामा प्रहरी प्रमुख भएर काम गरेका त्रिलोक चन्द र कृष्णबहादुर कुँवरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको हो ।

लेखापालसँग मिलेर प्रहरीको तलब, रासनलगायतको बजेट हिनामिना गरेको आरोपमा अख्तियारले उनीहरूलाई हिरासतमै राखेर अनुसन्धान अघि बढाएको हो । अख्तियारले तत्कालीन लेखापाल बीरेन्द्र चन्दलाई पनि नियन्त्रणमा लिएको छ । ०७० र ०७१ मा जिल्ला प्रहरी कार्यालय हुम्लामा बजेट हिनामिना भएको थियो । जिल्लामै नरहेका प्रहरीको नाममा किर्ते हस्ताक्षर गरी तलब निकासा गरी अनियमितता गरेको खुलेपछि अखितयारले छानबिन अघि बढाएको हो ।

अनियमिततामा संलग्न तत्कालीन लेखापाल सइ चन्द बर्खास्त भइसकेका छन । अनियमिततामा दुई डिएसपीकै मिलेमतो भएपछि प्रहरी नेतृत्वबाट भएको छानबिनमा उनीहरूलाई जोगाइएको थियो । अख्तियारमा उजुरी परेपछि प्रारम्भिक छानबिन गरी दुवै जनालाई पक्राउ गरिएको हो । अनियमिततामा दुवै डिएसपीको मिलेमतो रहेको आयोगको भनाई छ । त्यतिवेला प्रहरीलाई व्यक्तिगत रूपमै तलब दिइने भएकाले यस्ता अनियमितता भएको हो । हाल बैंक खातामार्फत तलब र रासनभत्ता निकासा हुने गरेको छ ।