जनता टाइम्स

९ फाल्गुन २०७६, शुक्रबार ११:५९

सुनको भाउले राख्यो अहिलेसम्मकै नयाँ रेकर्ड


काठमाण्डौ, फागुन ९

सुनको भाउले अहिलेसम्मकै नयाँ रेकर्ड राखेको छ । फागुन महिना लागेदेखि नै बढ्न थालेको सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो अहिलेसम्म कै महङ्गो भाउ हो । गएको फागुन १ गते तोलाको ७६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसयता नौ दिनमै तोलामा २१ सय रुपैयाँ बढेको छ ।

चीनबाट सुरु भएको कोरोना भाइरस विश्वमै फैलिएपछि सुनको माग बढेको र भाउ अझै बढ्ने संकेत देखिएको महासंघको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।

यसैबीच, सुनको भाउ बढेसँगै कारोबार घट्दै गएको व्यवसायीले बताएका छन् । माघ महिनामा विवाहका लागि दैनिक दैनिक २० किलोसम्म सुनको कारोबार हुने गरेकोमा भाउ बढेसँगै माग घट्दै गएको छ ।

अहिले दैनिक १०(१५ किलोसम्म मात्रै सुनको माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।