जनता टाइम्स

९ फाल्गुन २०७६, शुक्रबार १६:२८

नेकपाको एमसिसी कार्यदलले सक्यो आफ्नो काम


काठमाडौं, फागुन ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बारे अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन बुझाउने भएको छ । कार्यदलले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डसमक्ष प्रतिवेदन बुझाउन लागेको हो ।

सिंहदरबारस्थित नेकपाको संसदीय दलमा आज बसेको कार्यदलको बैठकले आजै बुझाउने निर्णय गरेको कार्यदलका सदस्य भीम रावलले जानकारी दिनुभयो । ‘कार्यदलको तर्फबाट एमसिसीको अनुदान सहायताको सम्बन्धमा जुन उद्देश्यका साथ हामी काम गरेका थियौं, त्यसलाई सम्पन्न गरेका छौं, ‘हामीले सरकार र एमसिसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेका छौँ । यो प्रतिवेदनलाई हामी आज बुझाउँछौं,’ बैठकपछि नेता रावलले भन्नुभयो । उहाँले प्रतिवेदन पार्टीलाई बुझाएपछि एमसिसीका सम्बन्धमा के निर्णय गर्नुपर्छ भन्ने कुरा नेतृत्वले छलफल गर्ने जानकारी दिनुभयो ।

उहाँले पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि आवश्यक निर्णय केन्द्रीय कमिटी बैठकले गरेअनुसार हुने बताउनुभयो । उहाँले प्रतिवेदन पार्टी अध्यक्षसमक्ष प्रस्तुत गरेपछि मात्र प्रतिवेदनमा उल्लेख गरिएका कुराबारे जानकारी गराइने स्पष्ट गर्नुभयो । पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली रहनुभएको कार्यदल गठन गरेको थियो ।

दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाई थप दश दिन माग गरेको थियो । कार्यदलको गत माघ २९ गते नै कार्यदलको समय सकिएको थियो । पछि नेकपाले थप दश दिनको समय थपेको थियो । कार्यदलले आज एमसीसीबारे निश्कर्ष निकालेको हो ।