जनता टाइम्स

१० फाल्गुन २०७६, शनिबार ०८:५४

पेट्रोलियमपछि अघि बढ्यो ग्यास पाइपलाइनको काम


काठमाडौं, फागुन १० । रासायनिक मल उद्योग स्थापनाका लागि गोरखपुरदेखि रूपन्देहीसम्म प्राकृतिक ग्यास पाइपलाइनको अध्ययन सुरु गरिएको छ । मल उद्योग स्थापनाका लागि यस्तो ग्यास पाइपलाइन आबश्यक हुने भएकोले यसको सम्भाव्यता थालिएको हो ।

रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्यास कच्चा पदार्थ हो । यो मिथेन ग्यास हो । नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार समितिले पाइपलाइनसँगै नेपालमा रासायनिक मलको माग, बजार र व्यापारका बारेमा पनि अध्ययन गर्नेछ । ‘नेचुरल ग्यास मल बनाउने कच्चा पदार्थ हो, फाइनल प्रोडक्ट बन्न ग्यास आवश्यक हुन्छ, हुन त यो ग्यासले गाडी चल्नेदेखि घरायसी प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ तर हामीले रासायनियक मलको उद्योग स्थापना गर्न ल्याउने तयारी गरेका हौं,’ भट्टराईले भन्नुभयो ।

समितिले पाइपलाइन र मल उद्योगको सम्भाव्यता अध्ययन गर्नेछ । निगमका अनुसार गोरखपुरसम्म ग्यासको पाइपलाइन आउँदै छ । गोरखपुरदेखि नेपाल ल्याउन लामो दूरी नपर्ने भएकाले पनि सहज हुने देखिएको छ । सम्भाव्यता अध्ययन गर्न इन्डियन आयल कर्पोरेसन पनि तयार रहेकाले अध्ययन थालिएको हो । ‘इन्डियन आयल कर्पोरेसनले ठीक छ यो अध्ययन गरौँ भनेको छ, अध्ययनपछि के हुन्छ थाहा छैन, सम्भाव्यताका बारेमा रिर्पार्ट आइसकेपछि बल्ल हामी अघि बढ्ने हो,’ भट्टराईले भन्नुभयो । नेपाल कृषि प्रधान देश भए पनि किसानले खेती गर्ने मौसममा मल नपाउने समस्या बर्सेनि दोहोरिन्छ । मल उत्पादनले भारतसँगको व्यापार घाटा कम गर्ने भट्टराईको दाबी छ । उहाँ भन्नुहुन्छ, सम्भाव्यता अध्ययनपश्चात् यो परियोजना सम्भावना छ छैन थाहा हुन्छ, मोटामोटी लगानी, आगामी दिनमा हुनसक्ने उत्पादन र व्यापारका बारेमा पनि आकलन हुन्छ, त्यसपछि दुई देशबीच छलफल र प्रक्रियाहरू अघि बढ्छ ।

निगमकी निर्देशक अरुणा क्षेत्रीको संयोजकत्व रहेको अध्ययन समितिले ४५ दिनमा प्रतिवेदन बुझाउने छ । निगमले सिलगुढी–झापा पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययनका लागि समिति बनाएर काम थालेको छ । अमलेखगञ्ज–लोथरको पेट्रोलियम पाइपलाइन विस्तारको सर्भे भइसकेको छ । लोथरसम्म विस्तार गर्ने काम सुनिश्चित छ अब प्रक्रिया अघि बढाउन मात्र बाँकी रहेको भट्टराईले जानकारी दिनुभयो । निगमले पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको पाइपलाइनका परियोजना अघि बढाउन सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन, अमलेखगञ्ज–लोथर र गोरखपुर–रूपन्देही प्राकृतिक ग्यास पाइपलाइनको प्राविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ ।