जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार १३:२२

सुनको कारोबार इतिहासकै बढी मूल्य, प्रतितोला भाउ ८० हजार ३ सय


काठमाडौं, फागुन १२

चीनमा फैलिएको कोराना भाइरसका कारण विश्व अर्थतन्त्रमा नकारात्मक असर परेपछि सुनको मूल्य बढ्न थालेको छ । चीन र अमेरिकाको व्यापारयुद्ध तथा अमेरिका र इरानबीचको तनावका कारण सुनको मूल्य महँगो हुँदै गएको हो ।  हाल चीन लगायत देशमा फैलिएको कोरोना भाइरसका कारण अन्र्तर्रराष्ट्रिय व्यापार प्रभावित भएपछि विश्वबजारमै सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ ।

फलस्वरुप : नेपालमा सुनको भाउ ८० हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको छ। छापावाल सुनमात्र हैन, तेजाबी सुन पनि आज ८० हजार रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको भाउ पनि आज ९ सय २५ रुपैयाँ प्रतितोला पुगेको छ। आज भएको सुनको कारोबार इतिहासकै बढी मूल्यको भएको महासंघले जनाएको छ।

अघिल्लो दिन आइतबार छापावाल सुन ७८ हजार ८ सय र तेजाबी सुन ७८ हजार ५ सय रुपैयाँ तथा चाँदी ९ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। यसअघि शुक्रबार क्रमशः सुन र चाँदीको भाउ ७८ हजार १ सय, ७७ हजार ८ सय र ९ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।