जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार १५:३३

गठनसँगै तुहियो नेकपाको संबिधान संशोधन कार्यदल : नेम्वाङ र देवकोटाले गरे कार्यदलमा बस्न अस्वीकार


काठमाडौं, फागुन १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष बामदेव गौतमको चाहना पूरा गराउन गठन गरेको संविधान संशोधन कार्यदलमा बस्न दूई नेताले अस्वीकार गरेका छन । स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले संबिधान संशोधन कार्यदलमा बस्न अस्वीकार गर्नुभएको हो ।

शनिवार बसेको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमको चाहनाअनुसार राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने ब्यवस्था गर्न बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको थियो । सोहीअनुसार संयोजक नेपालले आज बिहान सचिवालय सदस्य नेम्वाङ र देवकोटालाई छलफलका लागि बोलाउनु भएको थियो । नेता नेपालको निमन्त्रण स्वीकार गर्दै पुग्नुभएका दुवै सदस्यले कार्यदलमा बस्न अस्वीकार गर्नुभएको हो ।

‘संविधान संशोधन जस्तो कुरा जनतालाई थाहा दिएर गर्नुपर्ने कुरा हो । यो गोप्य राख्ने कुरै होइन । जनतालाई लुकाएर सूचना बाहिरियो भन्नु गलत हो । संविधान संशोधन जस्तो गम्भीर विषयमा अपारदर्शी हुन मिल्दैन । त्यसमा मेरो सहमति छैन,’ नेपालसँग कार्यदलमा बस्न अस्वीकार गर्दै हिडनुभएका नेता नेम्वाङले पत्रकारसँग भन्नुभयो । यस्तै नेता देवकोटाले पनि यति गम्भीर बिषयमा आफू सहमत हुनै नसकिने जानकारी नेपाललाई गराएको बताउनु भयो । ‘राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधन गर्नुपर्ने विषय भएपछि मैले समर्थन जनाउन सकिनँ,’ देवकोटाले भन्नुभयो ।