जनता टाइम्स

१२ फाल्गुन २०७६, सोमबार १८:४७

झलनाथ खनालको आक्रोश : एमसीसीमा के हेरेर कांग्रसले हस्ताक्षर गर्‍यो ?


पोखरा, फागुन १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमसीसी अहिलेकै अवस्थामा पास गर्न नहुने बताउनु भएको छ । नेकपाको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै नेकपाले गठन गरेको अमेरिकी सहयोग परियोजना एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहनुभएका खनालले सो अडान राख्नुभएको हो ।

खनालले कांग्रेस नेतृत्व सरकारका तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले कुरै नबुझी नेपालको हितविपरित एमसीसी परियोजनामा हस्ताक्षर गरेको ठोकुवा गर्नुभयो । एमसीसी अमेरिकाले अघिसारेको इन्डोप्यासिफिकको अङ्ग नभए पनि यो परियोजना जस्ताको तस्तै कार्यान्वयन गर्दा नेपालले ठूलो मूल्य चुकाउने पनि खनालको भनाई छ । ‘सम्झौतामा हस्ताक्षर गर्दा कांग्रेसले के हेरेर गरेको ?,’ खनालले भन्नुभयो । ‘सम्झौतामा अमेरिकाको न्यूयोर्क सिटीको कानुन नेपालमा लागू हुने भनिएको छ । त्यो भनेको के हो ?,’ खनालले भन्नुभयो, ‘कांग्रेसका अर्थमन्त्री ज्ञानेन्द्र कार्कीजीले के हेरेर त्यतिबेला हस्ताक्षर गर्नुभयो ? त्यतिबेला कांग्रेसले गरेको गल्ती यो सरकारले सच्याउँछ ।’

एमसीसी परियोजनाले नेपालमा ५५ अर्व अनुदान दिने कुरा राम्रो भए पनि अमेरिकाको कानुन कुनै पनि हालतमा नेपालमा कार्यान्वयन गर्न नहुने उहाँको भनाई छ । कांग्रेस नेतृत्वको तत्कालीन अर्थमन्त्री कार्कीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । एमसीसीका विषयमा पछिल्लो समय सत्तारुढ नेकपामै विवाद उठेपछि १५–१९ माघमा बसेको नेकपा केन्द्रीय कमिटि बैठकले कार्यदल गठन गरेर यसका सबै बुँदा र दस्तावेज अध्ययन गर्नुपर्ने निर्णय भएको थियो ।

खनालको संयजकत्वमा स्थायी कमिटी सदस्य भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलले केही दिनअघि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा बिना संशोधन एमसीसी परियोजना कार्यन्वयन गर्न नहुने औंल्याइएको छ ।