काठमाडौं, फागुन १२ । अर्थमन्त्री डा. युवराज खतिवडाले लगानी वृद्धि र लगानीकर्तालाई आकर्षित गर्न सरकारले औद्योगिक कानुनहरुमा सुधार गरेको प्रष्ट पार्नुभएको छ । काठमाडौंमा आजबाट सुरु भएको ‘इन्भेष्टमेन्ट क्लाइमेट रिर्फम इन नेपाल’ सम्बन्धी परामर्श कार्यशालामा बोल्दै अर्थमन्त्री खतिवडाले विश्वभरका लगानीकर्तालाई आकर्षित गर्न औद्योगिक कानुनहरुलाई सहज बनाउँदै गएको जानकारी गराउनु भएको हो ।
लगानीकर्ताको सहजताका लागि एकद्वार प्रणालीमार्फत उद्योग स्थापना गर्न सक्ने सुविधाको विकास गरिसकेको जानकारी पनि अर्थमन्त्री खतिवडाले दिनुभयो । नेपालको अर्थमन्त्रमा सुधार हुँदै गएको तथ्यांक प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले पर्यटन, जलविद्युत, सेवामुलक र उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रलाई आग्रह पनि गर्नुभयो । अर्थमन्त्री खतिवडाले सरकारले कर प्रणालीलाई समेत पारदर्शी बनाएको र व्यवसायमा अप्ठ्यारो परेको अवस्थामा अर्थमन्त्रालयले प्रत्येक वर्ष बजेटमार्फत करका विषयमा सुधार गर्दै जाने प्रतिवद्धता व्यक्त जनाउनु भयो । निजी क्षेत्रका समस्याहरुलाई सरकारले बिस्तारै समाधान गर्दै गइरहेको र उत्पादन बढाउन विभिन्न सुविधाहरु दिँदै आएको जानकारी पनि उहाँले दिनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको ‘कस्ट अफ डुइङ बिजनेस’ अझै पनि उच्च रहेको बताउनु भयो । यातायात खर्च बढी हुनु, करका दरहरु उच्च हुनु, दक्ष जनशक्तिको अभावलगायतका कारणले नेपालको कस्ट अफ डुइङ बिजनेस अझै पनि उच्च रहको उहाँको भनाई थियो । विश्व बैंकसँगको सहकार्यमा सरकारले आयोजना गरेको उक्त कार्यशाला गोष्ठी दुई दिनसम्म चल्नेछ । कार्यशालामा नेपालमा लगानीका लागि देखिएका चुनौती र सम्भावनाका विषयमा विस्तृत छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्