जनता टाइम्स

१३ फाल्गुन २०७६, मंगलवार १०:२४

कर विवादपछि एनसेलको नाफा १९.६८ प्रतिशतले घट्यो


काठमाडौं, फागुन १३

फोरजीको विस्तारपछि नेपाल टेलिकमले आफ्नो बर्चश्व बढाउन थालेको छ । बजार हिस्सामा उल्लेख्य सुधार भईरहेका बेला अर्को निजी क्षेत्रको एनसेलको व्यापार भने कमि देखिन थालेको छ ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सन् २०१९ मा १५ अर्ब २२ करोड रूपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक भएको छ । वित्तीय विवरणअनुसार कम्पनीको अघिल्लो वर्ष अर्थात् सन् २०१८ को तुलनामा गत वर्ष २०१९ मा १९.६८ प्रतिशतले नाफा घटेको छ ।

गत वर्ष कम्पनीले १८ अर्ब ९५ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। गएको केही वर्षदेखि दूरसञ्चमर सेवा प्रदान गर्ने कम्पनीहरूको आम्दानीमा ठूलो गिरावट भैरहेको छ । इन्टरनेटको व्यापकता र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै दूरसञ्चार सेवा प्रदायकहरूको आम्दानीमा गिरावट आइरहेको छ । त्यसैको असर एनसेलको नाफामा पनि परेको हो ।

मानिसहरूले फोनमार्फत भ्वाइस सेवा लिने भन्दा पनि सामाजिक सञ्जालमार्फत फोनको सुविधा लिन थालेपछि कम्पनीहरूको आम्दानीमा असर पर्न थालेको हो । एनसेलले सन् २०१९ मा ५४ अर्ब तीन करोड रूपैयाँ आम्दानी गरेको छ । गत वर्ष कम्पनीले ५७ अर्ब ६७ करोड रूपैयाँ आर्जन गरेको थियो । कम्पनीको समग्र आम्दानी घटेसँगै नाफा पनि ओरालो लागेको हो । पछिल्लो समय कर विवादमा पनि फसेपछि एनसेलको व्यापारमा कमि आएको कतिपयको धारणा रहेको छ ।