जनता टाइम्स

१३ फाल्गुन २०७६, मंगलवार १७:२५

नेपाल ट्रष्टको स्वेतपत्रले खोल्यो देउवादेखि बाबुराम भट्टराईसम्मको पोल, यसरी हडपियो सरकारी सम्पत्ति


काठमाडौं, फागुन १३ । नेपाल ट्रष्टले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले थानकोट, मातातीर्थ, सतुंगल र बालाजुको जग्गा मोहीको नाममा दिने निर्णय गलत भएको उल्लेख गर्दै श्वेतपत्र जारी गरेको छ । उपपप्रधानमन्त्री समेत रहनु भएका नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेलले आज जारी गरेको श्वेतपत्रमा बाबुराम भट्टराई प्रधानमन्त्री र विजयकुमार गच्छदार गृहमन्त्री एवं ट्रष्टका अध्यक्ष भएका बेलाको निर्णय सच्याउनुपर्ने उल्लेख गरिएको छ ।

‘सार्वजनिक तथा सरकारी सम्पत्ति छानबिन आयोगलाई यी जग्गाको बारेमा छानबिन गर्न भनेर आग्रह गरेका छौं, हिलेसम्म नेपाल ट्रष्टको नाममा आएर गुमेको भनेको १७२ रोपनी सार्वजनिक जग्गा हो । त्यसलाई हामीले नेपाल ट्रष्टमा ल्याउनको लागि लागिपरेका छौं,’ पर्यटन बोर्डमा श्वेतपत्र जारी गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो । २०६९ कात्तिक २ गते मन्त्रिपरिषद्को समितिको निर्णय अनुसार थानकोट, मातातीर्थ, सतुंगल र बालाजुको १७२ रोपनी १५ आना नेपाल ट्रष्टको जग्गा मोही तथा हकवालाको नाममा नामसारी भएको थियो । ठुलो आर्थिक चलखेल गरी तात्कालिन सरकारले ट्रष्टको सो जग्गा ब्यक्तिको नाममा दिने निर्णय गरेको थियो ।

ट्रष्टले जारी गरेको श्वेतपत्रमा, ‘भूमिसम्बन्धी ऐन २०२१ को बमोजिम नेपाल सरकारको स्वामित्वमा भएको जग्गा कमाउने व्यक्तिलाई मोहीको हक प्राप्त हुने छैन,’ भन्ने व्यवस्था भएकाले उक्त जग्गा नेपाल ट्रष्टको कार्यालयको एकलौटी नाममा कायम हुनुपर्ने उल्लेख छ । भूमिसम्बन्धी ऐन २०२१ को २०२५ साल कात्तिक ९ गते भएको संशोधनमा ‘नेपाल सरकारको स्वामित्वमा भएको जग्गा व्यक्तिलाई मोही हक प्राप्त नहुने व्यवस्था छ । सरकारको सोही व्यवस्थालाई आधार मानेर बाबुराम भट्टराईको सरकारको निर्णय गलत ठहर गर्दै जग्गा नेपाल ट्रष्टको नाममा हुनुपर्ने बताएको हो ।

नेपाल ट्रष्टको नाममा आइसकेको जग्गा भट्टराई सरकारले मोही र हकवालाको नाममा दिने निर्णय गरेको थियो । २०६४ साल भदौ २६ गते नेपाल ट्रष्टले जग्गाधनी प्रमाणपूर्जामा पूरा र मोहीको नाम लेखेको अवस्थामा काठमाडौंका ती ठाउँको १७२ रोपनी १५ आना जग्गा आफ्नो नाममा ल्याएको थियो । तर बाबुराम भट्टराई सरकारले २०६९ सालमा मोही र हकवालाको नाममा गरिदिएको हो । ‘नेपाल ट्रष्टको नाममा कायम भइसकेका जग्गाहरू व्यवस्थापन गर्ने सम्बन्धमा नेपाल ट्रष्ट ऐन २०६४ को दफा १३ र दफा २४ ले व्यवस्था गरे बमोजिमको प्रकृया पूरा गर्नुपर्नेमा सो प्रकृया पूरा गरेको नदेखिएकाले मोही कायम भएका काठमाडौं जिल्ला मातातीर्थ, थानकोट महादेवस्थानलगायत गाविसस्थित नेपाल ट्रष्टको जग्गा पूर्ववत अवस्थामा नेपाल ट्रष्टको नाममा कायम हुन आवश्यक देखिन्छ’, श्वेतपत्रमा भनिएको छ ।

उपप्रधानमन्त्री पोखरेलले स्वेतपत्र जारी गर्दै दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई लिजमा दिँदा क्रमश : पुष्पकमल दाहाल, प्रचण्ड र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको जानकारी दिनुभयो । दरबारमार्गको जग्गा यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिले प्राप्त गर्ने निर्णय हुँदा प्रधानमन्त्री नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ट्रष्टको अध्यक्ष गृहमन्त्री विमलेन्द्र निधी रहेको श्वेतपत्रमा उल्लेख छ । दरबारमार्गमा १ रोपनी १५ आना जग्गा थामसेर्कुले २०७४ वैशाख ५ गते प्राप्त गरेको थियो। थोमसेर्कुले दरबारमार्गको जग्गा १ अर्ब ४० करोड १० लाख ८६ हजारमा प्राप्त गरेको हो ।

त्यस्तै, ताहाचलको जग्गा थामसेर्कुले प्राप्त गर्दा ट्रष्ट्रको संरक्षकको हैसियतमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको र अध्यक्षमा गृहमन्त्री जनार्दन शर्मा रहेको श्वेतपत्रमा उल्लेख छ । ताहाचलमा सोल्टी होटलसँगै रहेको २ हजार १ सय ९० वर्गमिटर जग्गा २७ करोड ७४ लाख ७५ हजारमा थामसेर्कुले २०७४ कात्तिक १३ गते प्राप्त गरेको थियो । गोकर्णको जग्गाबारे भने लिज अवधि बढाएका कारण १ अर्ब बढी लाभ मिल्ने पोखरेलले श्वेतपत्रमा उल्लेख गर्नुभएको छ । लिज अवधि बाँकी रहँदा नयाँ लिज सम्झौताले भाडादर बढेको र त्यसले ४ करोड ३१ लाख लाभ मिल्ने श्वेतपत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै, यती समूहले गोकर्णमा २९ करोड लगानीमा ४८ वटा सुविधायुक्त कोठा र ४ सय जना अट्ने हल बन्ने उल्लेख गरेको छ । यसैगरी २५ वर्ष लिज अवधि थप गर्दा १ अर्ब १ करोड ५१ लाख प्राप्त हुने श्वेतपत्रमा उल्लेख गरिएको छ। अप्रत्यक्ष लाभ करबाट ३ अर्ब प्राप्त हुने, रोजगारी सृजना हुने पर्यटन उद्योगमा टेवा पुग्ने र सम्पत्तिको संरक्षण हुने पोखरेलले श्वेतपत्रमा दाबी गरेका छन ।