जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार ०८:२५

फेसबुकबाट चिनजान, इटहरीबाट बोलाएर काठमाडौंमा बलात्कार


काठमार्डौं, १४ फागुन ।   सुनसरीकी महिलालाई काठमाडौं बोलाएर सामूहिक बलात्कार गरिएको छ । उनीहरुबीच सामाजिक सञ्जालमा चिनजान भएको थियो । जागिरको प्रलोभन देखाएर सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर दुई जनाले बलात्कार गरेका हुन् । पीडित महिलाले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी गरेपछि आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी लम्सालले दिनुभयो ।

वृत्तका प्रमुख उमेश लम्सालका अनुसार पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षका विशाल संग्रौला र सोही ठाउँ बस्ने वर्ष ३५ का सुवास संग्रौलालाई पक्राउ गरिएको हो । उनीहरूले इटहरीकी ती महिलालाई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ६ गणेशचोकस्थित सुवास संग्रौलाको घर तथा भक्तपुरको एक रिसोर्टमा लगेर उनी र विशाल संग्रौलाले बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ । आइतबार साँझ बूढानीलकण्ठबाटै नियन्त्रणमा लिइएका उनीहरूलाई महाराजगन्ज वृत्तको हिरासतमा राखेर जबर्जस्ती करणी मुद्दा चलाइएको छ ।