जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार १४:२१

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा, यस्तो छ अठोट


काठमाडौं, फागुन १४ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका गर्नुभएको छ । अनौपचारिक रुपमा यसअघि नै उम्मेदवारी घोषणा गर्नुभएका ढकालले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आगामी चैतमा हुन लागेको महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नुभएको हो ।

ढकालले आफ्नो उम्मेदवारी देशमा औद्योगिक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन र निजी क्षेत्रको सिर्जनात्मक भूमिका बढाएर व्यावसायिक हकहित र अधिकारका लागि सरकारसँग लबिङ गर्न भएको बताउनु भयो । तीन खम्बे अर्थ नीतिको प्रमुख खम्बाका रुपमा रहेको निजी क्षेत्रलाई सबैभन्दा सशक्त सबल खम्बाको रुपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासनसहितको उत्तरदायी राज्य व्यवस्थामा सघाउन उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिवद्धता पनि ढकालले जनाउनु भयो । उहाँले सरकारले लिएका करका नीति र कर प्रणालीमा देखिएको दुविधाका कारण भविष्यमा उद्योगी व्यवसायीहरु करको ठूलो मारमा पर्ने धारणा पनि राख्नुभयो । एउटा निकायबाट पार लागेको कर र सम्पत्तिको विषयलाई अनेक निकायबाट छानबिनको विषय बनाउने रोग रहेको र त्यसको सही निदान र उपचार हुनुपर्ने मान्यता आफूले राखेको ढकालको भनाई छ ।

सरकारले लागु गरेको भिसिटिएस र अनिवार्य प्यान नम्बरका कारण साना उद्योगी तथा व्यवसायी समस्यामा परेको दाबी पनि उहाँले गर्नुभयो । सम्पत्तिमाथि निजी क्षेत्रको हकलाई विश्वासिलो बनाउन, स्वदेशी उद्योग र व्यापारको संरक्षण गरेर वैदेशिक लगानीलाई आकर्षित गर्न, उद्योग वाणिज्य महासंघजस्तो संस्थालाई विज्ञ समूहको रुपमा विकास गर्न आफ्नो प्रयास रहने उहाँको भनाई छ । महासंघको सचिवालयलाई विश्वासिलो, भरपर्दो र गतिशील बनाउनुपर्ने र सरकारसँग नीतिगत छलफल बढाउनुपर्ने आवश्यकता रहेको धारणा पनि उहाँले राख्नुभयो ।

‘समृद्धिको आधार राज्य निजी क्षेत्र साझेदार’ मूल नारासहित उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँग जति धेरै सहकार्य र्गयो त्यतिनै देशको आर्थिक विकास सम्भव रहेको बताउनु भयो । ढकालले निजी क्षेत्र आर्थिक विकास र रोजगारीका लागि इन्जिनजस्तै भएकाले आफूले महासंघमा रहेर निजी क्षेत्रको हक हितका लागि काम गर्ने प्रतिवद्धता पनि जनाउनु भयो । ढकालले भावी अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा व्यावसायिक र गतिशील समूह बन्ने र उक्त समूहले उद्योग वाणिज्यको क्षेत्रमा सरकारसँग, नीतिगत छलफलको क्षेत्रमा सरोकारवाला र साझेदारहरुसँग समझारी गर्न एक र एक जोडेर दुई नभई एक र एक जोडेर ११ बनाउने नतिजा आउनेगरी काम गर्ने प्रतिवद्धता पनि जनाउनु भएको छ ।