जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार १५:००

नेकपाले यसकारण भंग गर्यो संबिधान संशोधन कार्यदल


काठमाडौं, फागुन १४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संबिधान संशोधन कार्यदल भंग गरेको छ । पार्टी कार्यकर्ता र जनताबाट चर्काे आलोचना र बिरोध भएपछि नेकपाले बरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित तीन सदस्यीय कार्यदल भंग गरेको हो ।

शनिवार बसेको नेकपाको सचिवालय बैठकले नेपालको नेतृत्वमा संविधान संशोधनका लागि बनाएको थियो । सो कार्यदलमा संबिधानसभा अध्यक्षसमेत रहनुभएका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ र खीमलाल देवकोटा सदस्य हुनुहुन्थ्यो । नेकपाले उपाध्यक्ष बामदेव गौतमको चाहना पूरा गर्न राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने ब्यवस्था गर्न संबिधान संशोधन कार्यदल गठन गरेको थियो । सो सूचना चुहिएलगत्तै चर्काे बिरोध भएपछि आज बसेको नेकपाको सचिवालय बैठकले कार्यदल भंग गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान संशोधनको कार्यदल अगाडि बढाउनुपर्ने औचित्य नदेखिएको निश्कर्षका आधारमा भंग भएका बैठकपछि जानकारी दिनुभयो । ‘संविधान संशोधन आवश्यकताअनुसार हुँदै जाने संविधानको मर्मअनुसार अगाडि बढ्न सकिन्छ तर अहिले नै संविधान संशोधनका लागि उक्त कार्यदललाई अगाडि बढाउनुपर्ने औचित्य आजको सचिवालय बैठकले देखेन,’ कार्यदल बिघटनको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

संविधान संशोधन कार्यदलका लागि तोकिएका सदस्यद्वय नेम्वाङ र खिमलाल देवकोटाले समेत कार्यदलमा बस्न अस्वीकार गर्नुभएको थियो । नेकपामा एकाध ब्यक्तिबाहेक सवै नेता कार्यकर्ता सो कार्यदलको बिपक्षमा उभिएपछि नेतृत्वले आफ्नो गलत निर्णय सच्याउँदै कार्यदल नै भंग गरेको हो ।