जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार १५:५६

सवै नेताको सम्पत्ति छानविनको माग गर्दै भट्टराईको प्रश्न : गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो ?


काठमाडौं, फागुन १४ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूसहित सबै नेताको सम्पत्ति छानबिन गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री भट्टराईले गाउँमा बुकुरो घर भएका नेताहरूको काठमाडौंमा कसरी महल ठडियो भन्नेबारे छानबिन गर्न माग गर्नुभएको हो ।

‘हिजो हामी त साथीहरूले दिएको जडौडी लुगा, चप्पल लगाएर हिँड्थ्यौं। अहिले हामी कसरी सुटेटबुटेट भएका छौं । कसरी चिल्ला कार चढेर हिडेका छौं,’ पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘मलगायत सबैको सम्पत्ति छानबिन गरौं ।’ उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको तेह्रथुमस्थित घर जन्मदिनको दिन देखिएको उल्लेख गर्दै त्यो घरभन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको दाबी गर्नुभयो । ‘प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा त्योभन्दा राम्रो घर गोरखामा मेरो छ,’ भट्टराईले भन्नुभयो, ‘गाउँमा बुकुरो भएका हामी प्रधानमन्त्रीहरू काठमाडौंमा महल बनाउने कसरी पुग्यौं ?’

जानीबुझी मोही कायम

पूर्वप्रधानमन्त्री भट्टराईले जानीबुझी मातातीर्थको करिव १७३ रोपनी जग्गा मोही कायम गरेर वितरण गरेको प्रष्टीकरण दिनुभयो । आफ्नो सरकारले २०६९ कात्तिक १४ मा गरेको उक्त निर्णय राजनीतिक, कानुनी र नैतिक रुपमा पनि सही भएकोसमेत उहाँको दाबी थियो । मंगलबार नेपाल ट्रष्टले जारी गरेको श्वेतपत्रमा भट्टराई सरकारले ट्रष्टको जग्गा ब्यक्तिलाई दिएको भन्दै फिर्ता हुनुपर्ने बताएको थियो । भट्टराईले अहिले त्यो जग्गा आफ्नो भएको दाबी गर्ने नेपाल ट्रष्टकै सचिवको नेतृत्वमा छानबिन समिति बनेको र त्यसको प्रतिवेदनका आधारमा निर्णय भएको बताउनु भयो ।

मालपोतबाट निर्णय बदमासी भयो कि भनेर हेर्दासमेत सबै कार्यबिधि पूरा गरेको पाइएको बताउनु भयो । त्यहाँको जग्गाबारे परेको एउटा मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले समेत फैसला गरेको उल्लेख गर्दै भट्टराईले भन्नुभयो, ‘ललिता निवासमा जस्तो कसैले लाभ लिएको पुष्टि हुँदैन । मेरो सरकारको पालामा भएको निर्णय राजनीतिक, कानुनी र नैतिक रुपमा सही छ ।’