जनता टाइम्स

१४ फाल्गुन २०७६, बुधबार १८:३८

राष्ट्रियसभामा मनोनीतका लागि युवराज खतिवडाको नाम सिफारिश भइसकेको छ : प्रधानमन्त्री ओली


काठमाडौं, फागुन १४ । प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालयले निर्णय लिनुअघि नै राष्ट्रियसभामा मनोनीतका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको नाम सिफारिश भइसकेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले सचिवालयका सवै नेताहरुलाई राष्ट्रपतिबाट मनोनीति हुने राष्ट्रियसभा सदस्यमा मन्त्रिपरिषदले खतिवडालाई सिफारिश गरिसकेको जानकारी दिनुभएको हो ।

‘सचिवालयको निर्णय ढिला भयो, राष्ट्रियसभामा मनोनीतका लागि डा. युवराज खतिवडाको नाम सिफारिश भइसकेको छ, निर्णय भइसकेको नाम परिवर्तन हुन्न,’ प्रधानमन्त्री ओलीको भनाई उधृत गर्दै एक नेताले जनताटाइम्ससँग भने । ती नेताका अनुसार राष्ट्रियसभा चुनावपछि मन्त्रिपरिषदले राष्ट्रपतिबाट मनोनीतिका लागि खतिवडाको नाम सिफारिश गरिएको जानकारी प्रधानमन्त्री ओलीले गराउनु भएको छ ।

आज सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई सो कोटामा पठाउने निर्णय गरेपछि उहाँलाई राष्ट्रियसभामा लैजाने तर मनोनीतिका लागि भने खतिवडाको नाम गइसकेको बताउनु भएको हो । अर्थमन्त्री खतिवडाको पहिलो कार्यकाल फागुन २० गते सकिदैछ । राष्ट्रपति समक्ष नियुक्तिका लागि सिफारिस गरेपछि खतिवडालाई सरकारको प्रवक्ता तोक्ने निर्णय भएको हो । सो विषय आज बसेको सचिवालय बैठकमा अध्यक्ष एंवम प्रधानमन्त्री ओलीले जानकारी गराउनु भएको हो ।

उहाँले यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको सहमति अनुसार आफुले नाम सिफारिस गरेको बताउनु भएको थियो । सरकारका काममा अर्का अध्यक्षले हस्तक्षेप नगर्ने र कार्यकारी अध्यक्षको अधिकार प्रचण्डलाई दिने पूर्वसहमति अनुसार आफुले निर्णय गराएको बैठकमा जानकारी गराउनु भएको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले सो निर्णय सुनाएलगत्तै प्रचण्ड लगायतका नेताले उपाध्यक्ष बामदेव गौतमलाई पठाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो । प्रधानमन्त्रीले पूर्वसहमति अनुसार नै आफुले निर्णय लिएकाले अर्को पटकको सिफारिसमा वा निर्वाचनमा बामदेवलाई राष्ट्रिय सभामा लैजाने जानकारी गराउनु भएको थियो । सोहीअनुसार बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय मात्र भएको बताइएको छ । तर, कहिले सिफारिस गर्ने भनेर निर्णय नभएको एक सचिवालय सदस्यले जानकारी दिए ।