जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार १६:११

एक्सन रुमको काम अन्तिम चरणमा : राष्ट्रिय गौरवका आयोजनामा असारबाट प्रधानमन्त्रीले प्रत्यक्ष निगरानी राख्ने


काठमाडौं ।

आर्थिक वर्ष २०७६\७७ बाट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु प्रधानमन्त्री कार्यालयबाटै निरिक्षण गर्नुहुने भएको छ । उहाले सातै प्रदेशका मुख्यमन्त्रीसँग पनि त्यहीबाट प्रत्यक्ष सम्बाद गर्ने व्यवस्था गर्न लागिएको हो ।

निक्कै अगाडीबाट चर्चामा रहेको ‘एक्सन रुम’बाट उहाले सबै कुराको प्रत्यक्ष निगरानी गर्न लाग्नु भएको छ । भिडियो कन्फर्मेसन पद्धतिबाट देशको मुख्य आयोजनाको कामको अवलोकन गर्न र प्रदेशका मुख्यमन्त्रीसँग समन्वय गर्न प्रधानमन्त्री कार्यालयमा अहिले धमाधम एक्सन रुम बनाउने काम भइरहेको छ । प्रधानमन्त्री कार्यालयको भुइँतलामा रहने सो संयन्त्रका लागि आवश्यक प्रविधि झिकाउने काम भइरहेको छ । प्रधानमन्त्री त्यहीबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षण गर्नुहुनेछ ।

ति आयोजनाहरुमध्ये अधिकांश सोचे अनुरुप अगाडी बढिरहेका छैनन् । प्रधानमन्त्री ओली सबै आयोजनाको निरिक्षण गर्न पनि नभ्याउने र कहिले काही गलत सूचना पनि आउने गर्दा काममा तिव्रता पाउन सकेको थिएन् । यसैलाई मध्यनजर गर्दै प्रधानमन्त्री कार्यालय सिंहदरवारबाटै निरिक्षण गरिने व्यवस्था मिलाइएको हो । त्यसका लागि प्रत्येक आयोजनामा ६ वटा सिसिटिभी क्यामरा जडान गरिन लागिएको छ । एक्सन रुम निर्माणको काम अन्तिम चरणमा पुगेको र जेठको अन्तिम साताबाट सञ्चालनमा आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिनुभयो । झन्डै साढे ४ करोड लागतमा निर्माण गर्ने ठेक्का पाएको कम्पनी शास्त्र नेटवर्क सोलुसन्स इङ्क प्रालीले धमाधम काम गरिरहेको छ ।

प्रधानमन्त्रीको कार्यालयले ७ वटै प्रदेशमा एउटा टेबल, ३ वटा कुर्सी र एउटा ५५ इन्चको मोनिटरसहितको भिडियो संवाद कक्ष पनि बनाइरहेको छ । प्रधानमन्त्रीले कुनै विषयवस्तु वा मुद्दामा ७ वटै मुख्य मन्त्री वा चाहेको मुख्यमन्त्रीसँग प्रत्यक्ष कुराकानी गर्न सक्नुहुनेछ । प्रधानमन्त्री कार्यालयको एक्सन रुममा तीनवटा मोनिटरमा सातवटै प्रदेशका मुख्यमन्त्री एकसाथ देखिनेछन् र प्रधानमन्त्रीसँग सीधा संवाद हुने व्यवस्था मिलाइँदैछ ।