काठमाडौं, फागुन १६ । सरकारले ज्ञानमा नभई ब्यापार गरेर कमाएको नाफामा मात्रै कर लगाएको प्रष्ट पारेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सो भनाई राख्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका अर्थमन्त्री खतिवडाले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीति अनुसार नै बिदेशबाट आयात गरिने पुस्तकमा १० प्रतिशत कर लगाइएको भन्दै ज्ञानमा कर लगायो भन्दै पुस्तक ब्यापारीको अफवाहमा लाग्न जरुरी नभएको प्रष्ट पार्नुभयो । पुस्तकको कारोबार व्यापार नै भएकाले यसमा सरकारले कर उठाउने कुरा जायज रहेको उहाँले प्रष्ट पार्नुभयो ।
सरकारका प्रवक्ता खतिवडाले स्वदेशी प्रेस तथा छापाखानाको संरक्षणका लागि विदेशबाट आयातित पुस्तकमा कर लगाउने निर्णय गरिएकोले संसदबाट अर्काे कानून नआएसम्म लागू हुने प्रष्ट पार्नुभयो । अरु देशहरुमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरिएको उदाहरण दिँदै मन्त्री खतिवडाले भन्नुभयो, ‘धेरै देशमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरेका छन । हाम्रो देशमा अर्वाैं रुपैयाँ लगानी गरेर प्रेस र छापाखाना स्थापना गरिएको छ । उनीहरुले मेसिन र कागज दुवैमा कर तिर्नुपर्छ । करै नतिरी ल्याउने पुस्तकसँग उनीहरुले कसरी प्रतिस्पर्धा गर्नेछन ?’
करै नलाग्ने भएपछि पुस्तकमा जथाभावी मूल्य राखेर पनि बिक्रीवितरण भएको खतिवडाले बताउनुभयो । ‘पुस्तकको व्यापार व्यापार नै हो, ज्ञानको व्यापार हुँदैन, ज्ञानको त आदानप्रदान हुन्छ । ज्ञानको व्यापार भनेर दिग्भ्रमित पार्ने काम नगरौं,’ खतिवडाले भन्नुभयो । एउटा पुस्तकमा ३०–४० प्रतिशत नाफा खाने तर सरकारलाई १० प्रतिशत कर दिन नमान्ने प्रवृत्ति गलत भएको पनि खतिवडाले बताए। उनले भने, ‘नाफामा कर लगाइएको हो, ज्ञानमा कर लगाइएको होइन। व्यापार गरेर नाफा धेरै कमाएपछि कर उठाइन्छ। कर लगाएपछि पुस्तक नै बिकेनन् भनेर हल्ला गरिएको छ। कर छलेर ल्याएको पुस्तक समात्दा ज्ञान पक्रिइयो भन्ने गरिएको छ।’
सरकारले आयातित किताबमाथि १० प्रतिशत कर लगाउने निर्णय गरेपछि ज्ञानमाथि अंकुश लगाउने कदम भएको बताउँदै ‘मेक बुक्स ट्याक्सफ्री’ अभियान नै चलाइएको छ । पाटन दरबारस्क्वायरमा दैनिक रुपमा विभिन्न क्षेत्रका अगुवा गएर अभियानमा ऐक्यबद्धता जनाइरहेका छन । स्वदेशी उद्योगबिरोधी सोअभियानले सरकार आफ्नो निर्णयबाट पछि नहटने खतिवडाले प्रष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्