जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार १५:११

उपराष्ट्रपति पुनलाई राष्ट्रपति बिद्या भण्डारी नै देखेपछि…


काठमाडौं, फागुन १९ । नेपाली मिडिया राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको बदनाम गर्न कसरी लागेको छ भन्ने एउटा गतिलो घटना आज सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आइतवार बसेको सचिवालय बैठकमा आफू दोस्रो पटक मृगौला पत्यारोपन गर्न लागेको र आज अस्पताल भर्ना हुने जानकारी गराउनु भयो ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले यस बिषयमा जानकारी गराउनु भयो । नेपालका चिकित्सकको मनोवल उकास्नका साथै स्वदेशमै मृगौला प्रत्यारोपन संभव छ भन्ने दृढ सन्देश जनतालाई दिन प्रधानमन्त्रीले मृगौला प्रत्यारोपनको जानकारी गराउनु भएलगत्तै देशभर उत्सुकता छायो । नेकपाका नेता कार्यकर्ता मात्रै होइन, आम नेपाली नागरिकले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको कामनासहित सफल प्रत्यारोपनका लागि शुभकामना दिए । यही क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन प्रधानमन्त्री ओलीलाई भेटेरै स्वास्थ्यलाभको कामना गर्ने निश्कर्षमा पुग्नुभयो ।

मर्यादाक्रममा राष्ट्रपतिपछि दोस्रोमा रहनुभएका उपराष्ट्रपति पुनले प्रधानमन्त्रीको स्वास्थ्यको चासो र चिन्ताले सरकारी निवासमै पुगेर बुझ्ने निर्णय लिनुभयो । उहाँले सचिवालयका सदस्यहरुलाई आफू प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न सरकारी निवास बालुवाटार नै जाने निर्णय सुनाएलगत्तै बालुवाटारमा खवर भयो । उपराष्ट्रपतिको सचिवालय र प्रधानमन्त्री कार्यालयका सदस्य तथा सुरक्षाकर्मीहरु केही अलर्ट बने । सुरक्षाकर्मीले जानकारी दिए, सम्माननीयज्यू, प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न बालुवाटारस्थित निवासमै आउँदै हुनुहुन्छ । प्रधानमन्त्री निवासमा सम्माननीय आउँदै हुनुहुन्छ भन्ने सूचनाको आधारमा मिडियाले हेडलाइन बनाइ दिए, ‘प्रधानमन्त्री भेटन बालुवाटार पुगिन राष्ट्रपति भण्डारी ।’

यो समाचार क्षणभरमै फैलियो । यही हो मौका, राष्ट्रपतिबिरुद्ध अफवाह फैलाउने भन्दै योजनावद्ध रुपमा दिइएको समाचार अरु मिडियाले पनि सारे । कपि पेष्टको चरम रुप देखियो । पहिलो समाचार दिने अनलाइनले खण्डन गर्यो तर हेडलाइन भने उही रहिरह्यो । यसरी उपराष्ट्रपति पुन प्रधानमन्त्री निवास बालुवाटार पुग्दा नेपाली मिडियाले राष्ट्रपति भन्दै भ्रम छर्यो । नेपालको संबिधानअनुसार राष्ट्रपतिसहित ६ जना सम्माननीय हुनुहुन्छ । तर मिडिया यहाँ चिप्लियो । अर्थात फेरि अफवाह फैलाउने अभियानकर्ताको रुपमा आफूलाई उभ्याएर आम नागरिकलाई झुटो समाचार दियो ।