जनता टाइम्स

१९ फाल्गुन २०७६, सोमबार १८:३२

अस्पताल भर्नाअघि दृढ अठोटसहित आयो प्रधानमन्त्री ओलीको यस्तो मार्मिक सन्देश (भिडियोसहित)


काठमाडौं, फागुन १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनको अस्पताल बसाईपछि थप उर्जा र आत्मबिश्वास लिएर काममा फर्कने घोषणा गर्नुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपनका लागि अस्पताल भर्ना हुनुअघि भर्खरै भिडियोमार्फत देशबासीमा सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो ।

‘मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनोस । हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मबिश्वास लिएर म काममा फर्कने छु,’ प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, ‘यसबीचमा सरकारको तर्फबाट गर्नुपर्ने सवै काम नियमित रुपमा अघि बढने छ । बिश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस वा भैपरी आउने कुनै पनि बिषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र आवश्यक ब्यवस्था मिलाएको छु ।

यस्तो छ प्रधानमन्त्रीको भिडियो सम्बोधन

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, मेरो सिंगो जीवन कुनै न कुनै किसिमको संघर्षमा बित्दै आएको छ । कहिले निरंकुशताबिरुद्ध लोकतन्त्रका लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष । मुलुकमा ब्याप्त यसप्रकार बिबिध समस्याहरुसँग निरन्तर जुध्ने क्रममा सरीरभित्र सिर्जित रोगसँग लडन म बाध्य हुन पुगेको यहाँहरु सवैलाई जानकारी नै छ ।

यसै सन्दर्भमा आज भन्दा १२ बर्ष अगाडि दुवै मिर्गाैलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गाैला प्रत्यारोपन गरेको थिए । त्यसबेला हाम्रो देश नेपालमा मिर्गौला प्रत्यारोपनको सुबिधा थिएन । पर्सि फागुन २१ गते बुधवार फेरि मैले मिर्गाैला प्रत्यारोपन गराउँदै छु । त्यस्को चिकित्सकीय तयारीका म आजै त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछु । बिज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गाैला प्रत्यारोपन अहिले पहिले जस्तो जटिल मानिदैन । यसपटकको मिर्गाैला प्रत्यारोप त्यसैले पनि तुलनात्मक रुपमा सिजिलो हुने बिश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा, आफ्नै देशका अनभवी चिकित्सकद्वारा प्रत्यारोपन गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुसी पछि छु ।

भनिन्छ नि आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र बिश्वासको जग मजवुत बनाउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रो सपनालाई हामी सवैले मिलेर जगायौं । त्यसलाई ब्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईहरु सवैले आफूलाई उभ्याउनु भयो । यस बर्षलाई हामीले समृद्धिको आरम्भ बर्ष भनेका छौं । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोडदैन, त्यसैगरी हाम्रा भर्खरै जागृत हुँदै गरेके सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न ।
संसारमा कोही पनि अजम्बरी छैन, मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेको सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ ।

म पुनः एक पटक आग्रह गर्दछु– मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनोस । हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मबिश्वास लिएर म काममा फर्कने छु । यसबीचमा सरकारको तर्फबाट गर्नुपर्ने सवै काम नियमित रुपमा अघि बढने छ । बिश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस वा भैपरी आउने कुनै पनि बिषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र आवश्यक ब्यवस्था मिलाएको छु ।