जनता टाइम्स

२० फाल्गुन २०७६, मंगलवार ०६:२१

मिर्गौला प्रत्यारोपनअघि प्रधानमन्त्री ओलीको त्यो अठोट


काठमाडौं, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिर्गौला प्रत्यारोपनका लागि अस्पतालभर्ना हुनुअघि भिडियोमार्फत पाँच सन्देश दिनुभएको छ । आफ्नो स्वास्थ्यलाई लिएर भइरहेको चासोलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले दिनुभएको भिडियो सन्देशमा जागृत हुँदै गरेको सपनालाई बीचमा अलपत्र पारेर आफू अलप नहुने भन्दै पुरै कार्यकाल सरकारको नेतृत्व गरी सपना साकार पार्ने अठोट गर्नुभएको छ ।

‘जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोडदैन, त्यसैगरी हाम्रा भर्खरै जागृत हुँदै गरेके सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ । उहाँले स्वदेशमै मिर्गौला प्रत्यारोप सहज रुपमा हुने जानकारी दिँदै नेपाली स्वास्थ्य क्षेत्रमा भइरहेको प्रगतिलाई पनि प्रधानमन्त्री ओलीले समेटनु भएको छ । ‘बिज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपन अहिले पहिले जस्तो जटिल मानिदैन । यसपटकको मिर्गौला प्रत्यारोप त्यसैले पनि तुलनात्मक रुपमा सिजिलो हुने बिश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा, आफ्नै देशका अनभवी चिकित्सकद्वारा प्रत्यारोपन गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुसी पछि छु,’ प्रधानमन्त्रीले भन्नुभएको छ ।

यस्तो छ संबोधनको पुर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, मेरो सिंगो जीवन कुनै न कुनै किसिमको संघर्षमा बित्दै आएको छ । कहिले निरंकुशताबिरुद्ध लोकतन्त्रका लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष । मुलुकमा ब्याप्त यसप्रकार बिबिध समस्याहरुसँग निरन्तर जुध्ने क्रममा सरीरभित्र सिर्जित रोगसँग लडन म बाध्य हुन पुगेको यहाँहरु सवैलाई जानकारी नै छ ।

यसै सन्दर्भमा आज भन्दा १२ बर्ष अगाडि दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपन गरेको थिए । त्यसबेला हाम्रो देश नेपालमा मिर्गौला प्रत्यारोपनको सुबिधा थिएन । पर्सि फागुन २१ गते बुधवार फेरि मैले मिर्गौला प्रत्यारोपन गराउँदै छु । त्यस्को चिकित्सकीय तयारीका म आजै त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछु । बिज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपन अहिले पहिले जस्तो जटिल मानिदैन । यसपटकको मिर्गौला प्रत्यारोप त्यसैले पनि तुलनात्मक रुपमा सिजिलो हुने बिश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा, आफ्नै देशका अनभवी चिकित्सकद्वारा प्रत्यारोपन गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुसी पछि छु ।

भनिन्छ नि आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र बिश्वासको जग मजवुत बनाउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रो सपनालाई हामी सवैले मिलेर जगायौं । त्यसलाई ब्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईहरु सवैले आफूलाई उभ्याउनु भयो । यस बर्षलाई हामीले समृद्धिको आरम्भ बर्ष भनेका छौं । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोडदैन, त्यसैगरी हाम्रा भर्खरै जागृत हुँदै गरेके सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न ।

मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनोस । हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मबिश्वास लिएर म काममा फर्कने छु

संसारमा कोही पनि अजम्बरी छैन, मेरो यो संकल्प पनि अजम्बरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेको सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ । म पुनः एक पटक आग्रह गर्दछु– मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनोस । हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाई र आरामपछि थप उर्जा र आत्मबिश्वास लिएर म काममा फर्कने छु । यसबीचमा सरकारको तर्फबाट गर्नुपर्ने सवै काम नियमित रुपमा अघि बढने छ । बिश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस वा भैपरी आउने कुनै पनि बिषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र आवश्यक ब्यवस्था मिलाएको छु ।