जनता टाइम्स

२० फाल्गुन २०७६, मंगलवार १८:०५

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई दिन थालियो औषधि, यसरी हुदैछ तयारी


काठमाडौं, फागुन २०

त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपका लागि आवश्यक औषधि दिन सुरु गरेको छ । बुधबार विहान मिर्गौला प्रत्यारोपण दिने तय भएकाले आजैबाट औषधि दिन शुरु गरिएको हो ।

मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत जानकारी दिइएको छ । अस्पतालले प्रत्यारोपण अगाडि गरिने नियमित डायलसिस तथा ल्याब परीक्षण गरिने क्रम जारी भएको विज्ञप्तिमार्फत जनाएको छ । साथै प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको र विशेषज्ञहरु निरन्तर निगरानीमा रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले बताउनु भयो ।

प्रधानमन्त्रीओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउन त्रिवि शिक्षण अस्पतालको ‘एनएक्स–२’ को क्याबिन ६०१ मा सोमबार साँझ भर्ना हुनु भएको छ । अस्पतालका निर्देशक डा. खड्काका अनुसार प्रधानमन्त्रीको प्रत्यारोपण र त्यसपछिको उपचार टोलीमा डा. प्रेम ज्ञवाली, डा. उत्तम शर्मा, डा. दिव्यासिंह शाह, डा. पवन चालिसे, डा. सुमन चापागाईं, डा. सुवास आचार्यलगायत छन् ।

डा. ज्ञवालीको नेतृत्वमा प्रत्यारोपण शल्यक्रिया हुन लागेको हो । अन्य विभिन्न विभागका विशेषज्ञ चिकित्सकलाई समेत प्रधानमन्त्रीको प्रत्यारोपणअन्तर्गत जुनसुकै बेला उपस्थित हुने गरी तम्तयार भएर बस्न भनिएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेबाट सुरु गरिने भएको छ । त्यसका लागि चिकित्सकले सम्पूर्ण तयारी पूरा गरेको जानकारी गराएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका प्रा।डा। अरुण सायमीले प्रधानमन्त्रीको मनोवल उच्च रहेको जानकारी गराउँदै भन्नुभयो, “प्रधानमन्त्रीज्यू उच्च मनोवलमा हुनुहुन्छ । हामी बरु अलिकति चिन्तित छौं तर उहाँले चिन्ता गर्नुपर्दैन । एकसातामा क्याबिनेट चलाउँछु भन्नुभएको छ ।”

कम्तिमा पनि चारघण्टा प्रत्यारोपणमा लाग्ने जनाइएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सबै अहिले नेपाली चिकित्सक टोलीले नै गर्नेछ । “सबै काम नेपाली टिमले नै गर्छ,” सायमीले भन्नुभयो, “प्रधानमन्त्रीको पहिलोपल्ट मिर्गौला प्रत्यारोपण गरेका चिकित्सक पनि आउनुभएको छ । तर उहाँ सपोर्टको लागि मात्रै । आज डायलासिस भयो । भोलि ९ बजे प्रत्यारोपण सुरु हुन्छ ।”